fbpx

पत्रपत्रिकामा प्रदेश : खानेपानी, रोजगारी र घरनम्बर दिनेलाई भोट

विराटनगर २१ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनको समय तीन साता बाँकी रहेको बेला सुनसरीको धरान उपमहानगरपालिकामा दलहरुले उम्मेदवारको टुंगो लगाएर भोट माग्न सुरु गरेका छन् ।

धरानलाई आफ्नो गढ मान्ने नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएर प्रचार प्र्रसार सुरु गरेको छ । कांग्रेसले एक महिनाअघि नै तिलक राईलाई उम्मेदवार बनाएर प्रचार प्रसार गरिरहेको छ । यस्तै संघीय समाजवादीले गजेन्द्र इस्वोलाई उम्मेदवार बनाएको छ । दलहरु मतदाता फकाउन विभिन्न एजेण्डा बोकेर गाउँगाउँ पुग्न थालेका छन् ।

तर मतदाताले भने रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको ब्लाष्ट टाइम्समा खबर छ । उनीहरुले यो गरिदिउँला त्यो गरिदिउँला भन्ने बाचा गरेर भोट पाएपछि वास्ता नगर्ने गुनासो समेत धरान ५ का स्थानीयले गरेका छन् । उनीहरुले खानेपानी, रोजगारी र घरनम्बर दिनेलाई भोट दिने बताएको समाचारमा छ ।

यस्तै मोरङको धनपालथान २ मा वडाध्यक्षको पदमा हुने उपनिर्वाचनको लागि प्रमुख दलले उम्मेदवार तोकेका छन् । उद्घोष दैनिकमा छापिएको समाचारमा नेकपाले पंकजकुमार मण्डललाई उम्मेदवार बनाएको नेकपा मो।रङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए । नेपाली कांग्रेसले नारायण साहलाई उम्मेदवार बनाएको छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएपछि मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

पाँचथरको याङ्वरक गाउँपालिका २ फलैचामा ससुराले नै बुहारीलाई बोक्सीको आरोप लगाउँदै शारीरिक र मानसिक यातना दिएको खबर पनि ब्लाष्ट टाइम्सले छापेको छ । स्थानीय कान्तप्रसाद गिरीले बुहारी पूजा गिरीलाई बोक्सीको आरोप लगाउँदै डाम्न खोजेको पूजाले बताइन् । छिमेकी महेन्द्रप्रसाद पौडेलसहित ससुराले निर्घात कुटपिट गरेको उनले बताइन् ।

फलाम तताएर डाम्न खोजेपछि भागेर माइतीको शरणमा पुगेको उनले बताइन् । पूजालाई ३१ भदौमा कुटपिट र डाम्ने प्रयास भएको हो । सोही रात पूजाले नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएपनि पक्राउ नगरिएको गुनासो गरिन् । प्रहरीले जाहेरी नदिइ कारवाही गर्न नमिल्ने बताएपछि २७ असोजमा उजुरी दिएको पीडित पक्षले जनायो । आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ ।

गौरवको आयोजना कोशी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाविरुद्ध धरान २० विष्णुपादुकाका स्थानीयले दिएको रिटि निवेदनलाई सर्वाेच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएपछि योजना अघि बढाउन बाटो खुलेको छ ।

Loading...