fbpx

इकार्डीको गोलमा पीएसजीको विजयी यात्रा कायमै

विराटनगर, २१ कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो चौथो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो राउण्डअन्तर्गत फ्रेन्च क्लब पीएसजीले बेल्जियन क्लब ब्रगविरुद्ध १–० गोलको जित निकालेको हो ।

पीएसजीको घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन माउरो इकार्डले निर्णायक गोल गरेका थिए । उनले खेलको २१औं मिनेटमा गरेको गोल नै पीएसजीका लागि निर्णायक गोल बनेको थियो ।

यस जितसँगै पीएसजी आफ्नो विजयी यात्रा कायमै राखेको छ । पीएसजीले च्याम्पियन्स लिगमा ४ वटै खेलमा स्पष्ट जित निकालेको छ । समूह ‘ए’को शीर्ष स्थानको उसँग हाल १२ अंक छ । यता, क्लब ब्रग भने सो समूहको तेस्रो स्थानको टोली हो । क्लब ब्रगसँग २ अंक छ ।

यस समूहको दोस्रो स्थानमा रियल मड्रिड छ । उसँग ७ अंक छ । पुछारमा भने रियलसँग पराजित टोली गालातासरे छ । उसँग १ अंक मात्र छ ।

Loading...