fbpx

च्याम्पियन्स लिग : कोस्टाको गोलमा युभेन्टसको जित, अपराजित यात्रा कायमै

एजेन्सी, २१ कात्तिक । युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब युभेन्टसले आफ्नो तेस्रो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोविरुद्ध २–१ गोलको जित निकालेको हो ।

मस्कोको मैदानमा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन आरोन राम्से र डग्लस कोस्टाले समान एक–एक गोल गरेका थिए । यता, मस्कोका लागि अलेक्सेइ मिरान्चुकले एक गोल लगाए । युभेन्टसले खेलको ते्रसो मिनेटदेखि सुरुआती अग्रता बनाएको थियो । यसै सिजन आर्सजनलबाट युभेन्टस गएका राम्सेले खेलको तेस्रो मिनेटमा गोल गर्दै इटालियन च्याम्पियन क्लब युभेन्टसलाई सुरुआती अग्रता दिलाए ।

तर, खेलको १२औं मिनेटमा घरेलु टोली बराबरीमा फर्कियो । मस्कोका मिरान्चुकले गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका हुन् । पहिलो हाफ १–१ गोलको बराबरीमा बितेको उक्त खेलको इन्जुरी समयमा गोल गर्दै युभेन्टसले बाजी मारेको हो । ९३औं मिनेटमा कोस्टाले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाएका हुन् ।

यस जितसँगै उसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्ट्स च्याम्पियन्स लिगमा मात्र नभएर युरोपका शीर्ष पाँच लिगमध्येकै अपराजित टोली हो । उसले च्याम्पियन्स लिगमा ४ खेलमध्ये ३ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । समूह ‘डी’को शीर्ष स्थानमा रहेको उसले १० अंक बनाएको छ ।

यता, पराजित लोकोमोटिभ मस्को भने सो समूहको तेस्रो स्थानको टोली हो । उसले समान ४ खेलबाट १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै ३ अंक बनाएको छ । सो समूहको दोस्रो स्थानमा भने स्पेनिस क्लब एथ्लेटिको मड्रिड छ । एथ्लेटिकोसँग ७ अंक छ ।

Loading...