fbpx

पदभार ग्रहणपछि प्रदेश प्रमुखले भने – ‘निर्देशकको भूमिका निर्वाह गर्छाैं’

विराटनगर २० कात्तिक । एक नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पदभार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका अधिकारीले बुधबार प्रदेश १ को राजधानी विराटनगर आएर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि अधिकारीले संविधान कार्यान्वयनमा निर्देशकीय भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार पदभार ग्रहण गर्दै अधिकारीले भने ‘बनिरहेका कार्यक्रमलाई लागु गर्ने, संविधान र संघियतालाई लागु गर्दै जान र भएका निर्णयहरुलाई जनताका बीचमा पूर्याउनका निमित्त निर्णयक भूमिका खेल्न हामी निर्देशकको भूमिका खेल्छौं ।’

प्रदेश प्रमुख अधिकारीले प्रदेशको समग्र विषयमा अध्ययन गर्दै आगामी दिनहरुमा काम गर्ने बताए ।

कास्कीका बासिन्दा अधिकारीले अब प्रदेश नम्बर १ को वातावरण बुझ्ने बताए । प्रदेशको आर्थिक, सामाजिक र हरेक गतिविधिको अध्ययन गर्ने बताउँदै उनले राजनीतिक तह, समाजसेवीलगायतसँग छलफल गरेर अघि बढ्ने बताए ।

बुद्ध एयर डिले हुँदा ढिलो हाजिरी

प्रदेश प्रमुख अधिकारी बुधबार २ः२५ मा विराटनगर आउने कार्यक्रम थियो । काठमाडौंबाट विराटनगर आउनका लागि उनले दिउँसो १ः५० को प्लेन टिकट गरेका थिए ।

विराटनगरमा पनि १ः५० मा बुद्ध एयरको विमानबाट विराटनगर आउने बताइएको थियो । सोही सूचनाका आधारमा नेकपाका नेता तथा कार्यकर्ताहरु दिउँसो १ बजे नै विराटनगर बिमानस्थल पुगेका थिए ।

प्रदेश प्रमुखको प्रतिक्रिया लिनका लागि पत्रकारहरुको टोली पनि बिमानस्थल पुग्यो । तर प्रदेश प्रमुख आउने बिमान ढिलो भयो । दिउँसो २ः२५ मा अवतरण हुने भनिएको प्लेन ५ः२५ मा मात्र विराटनगर आइपुग्यो ।

बुद्ध एयरका कारण प्रदेश प्रमुख तीन घण्टा ढिलो विराटनगर आइपुगेका थिए । विराटनगर उत्रिए लगतै कार्यालय पुगेर पदबहाली गरेका हुन् । पदबहाली पछि प्रदेश प्रमुखले कार्यालयका विषयमा जानकारी लिएको प्रमुख प्रमुखको कार्यालयका सचिव गोपि घिमिरेले जानकारी दिए ।

Loading...