fbpx

रेडक्रस मोरङको निर्वाचन एकलौटी गर्न खोजेकोमा आपत्ति

विराटनगर २० कात्तिक । विवाद नसुल्झाइ नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले एकलौटी निर्वाचन प्रकृया सुरु गरेको भन्दै रेडक्रस सरोकार समूहले आपत्ती जनाएको छ ।

सरोकार समूहका संयोजक तारानाथ भट्टराई, सहसंयोजक सुरबहादुर श्रेष्ठ र सदस्य शैलेन्द्र घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अवैधानिक भएको आरोप लगाए ।

रेडक्रस मोरङले तिहार र छठको विदाको बीचमा ८ कात्तिक २०७६ मा निर्वाचन तालिका प्रकाशन गरेको थियो । गुपचुपमा अवैधानिक तरिकाले एकलौटी रुपले निर्वाचन प्रक्रिया सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एकातिर रेडक्रसको विधान संशोधनबाट ३० पुस २०७५ मा नयाँ विधान आइसकेको अवस्थामा पूर्व सूचना विना गुपचुपमा गरिएको उपशाखा निर्वाचनबाट छनोट गरिएका पुरानै प्रतिनिधि सम्मिलित गरी गर्न लागिएको रेडक्रस मोरङ शाखा निर्वाचन अवैधानिक हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ । यही विवादले १२ माघ २०७५ मा घोषणा भएको निर्वाचन रोकिएको दाबी सरोकार समाजको छ ।

सरोकार समूहले रेडक्रस मोरङमा अनियमितता भएको पनि दाबी गर्दै आएको छ । ‘आव २०७५/७६ समय अवधि पनि सकिएको तीन महिना पुगिसकेको अवस्थामा लेखा परीक्षण र साधारण सभा नभई विवादित समितिबाट नै निर्वाचन गराउनु कतिको जायज छ ?’ विज्ञप्तिमा उल्लेख छ । एक आर्थिक वर्षको लेखा परीक्षण नै नगराइ पुरानै विधान अनुसार छनोट भएका प्रतिनिधिबाट गरिएको निर्वाचन वैधानिक नहुने समाजको ठहर छ ।

यसबारे रेडक्रस केन्द्रीय सदस्य एवम् निर्वाचन अधिकृत कृष्ण न्यौपाने, शाखा पदाधिकारी एवम् सदस्य र जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराइ सकेको भएपनि बुधबार उम्मेदवारको नाम दर्ता प्रक्रिया गरिएको छ ।

रेडक्रसको २०७५ पुस ३० गते जारी संशोधित विधान अनुसार उपशाखा निर्वाचनबाट आएका प्रधिनिधिमार्फत रेडक्रस मोरङ जिल्ला साधारण सभा र जिल्ला निर्वाचन हुनु पर्ने माग आफूहरुको रहेको सरोकार समितिले उल्लेख गरेको छ ।

Loading...