fbpx

नोबेलमा शिशुको मृत्यु, आफन्त भन्छन्– चिकित्सकले लापरवाही गरे

विराटनगर, २० कात्तिक । नाबेल मेडिकल कलेजमा नवजात शिशुको मृत्यु भएपछि परिवारले चिकित्सकले लापरवाही गरेको आरोप लगाएका छन् । सामान्य प्रसूतिमार्फत जन्मिएको शिशुको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएपछि परिवारले अस्पतालमाथि आरोप लगाएको हो ।

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीया माण्डवी राईले साेमबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रूपमा छोरो जन्माएकी थिइन् । तीन किलो तौल भएका शिशुको स्वास्थ्य अवस्था राम्रो थियो । आमा बच्चा दुवैको स्वास्थ्य राम्रो भएपछि अस्पतालले मंगलबार डिस्चार्ज दिने बताएको थियो । तर, मंगलबार बिहान शिशुको मृत्यु भएपछि चिकित्सक समयमा नै नआएको आरोप लगाएका हुन् ।

जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि नहेरेका कारण बच्चाको मृत्यु भएको दीपकले बताए । साेमबार रातिदेखि बच्चालाई असहज जस्तो देखिएपछि मंगलबार नर्सलाई सुनाएपनि डाक्टर नभेटिएको बताए । भर्खर जन्मिएको बच्चाका लागि डेढ घण्टासम्म खोजी गर्दा पनि चिकित्सक नभेटिएको उनको गुनासो छ । यो घटनालाई क्षतिपूर्ती लिएर पीडित परिवारले अस्पतालसँग मिलापत्र गरेका छन् ।

अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डा. अरुण गिरीले दूध सर्किएर वा हाइपोथर्मिया (शरीरको तापक्रम कम भएर हुने चिसोपना) का कारण शिशुको मृत्यु भएको हुन सक्ने बताए । बच्चाको शरीरमा ३६.५ देखि ३७.५ सेन्टिग्रेटसम्म तापक्रम हुन आवश्यक हुन्छ ।

Loading...