fbpx

जान्नुहोस् मन्दिरहरूमा घण्टी राख्नुको वैज्ञानिक कारण

विराटनगर, २० कात्तिक । हिन्दूधर्ममा प्रत्येक मठमन्दिरको प्रवेश द्वारमा घण्टी हुने गर्छ । भगवानको आरती गर्दा वा धार्मिक अवसरमा घण्टी बजाउनु अतिअवश्यक मानिन्छ । मन्दिरमा आरती हुँदा घण्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिक कारण त छ तर, यसका साथसाथै वैज्ञानिक कारण पनि रहेको हुन्छ । घण्टीको आवाज प्रत्येक मन्दिको पहिचान रहेको र मन्दिरमा घण्टी बजाउने परम्परा प्राचीन समयदेखि नै चलिआएको छ । मन्दिरमा राखिएका सानाठूला घण्टीका आवाजले वातावरणलाई शुद्ध बनाउनुका साथै घण्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा प्रदान गर्ने काम गर्छ ।

घण्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घण्टी बजाउँदा निस्कने ध्वनिले वातावरणमा भएको हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिने क्षमता राख्छ ।

घण्टीको आवाजले नकारात्मक ऊर्जाको असरलाई हटाएर सकारात्मक वातावरण निर्माण गर्छ । घण्टीको आवाजले एकाग्रता बढाउने हुँदा मनलाई शान्त गरेर चिन्तन गर्ने क्षमता बढाइ धार्मिक विचार जन्माएर बुद्धिको विकास गराउँछ ।

नियमित रूपमा आरती गर्दा र लगातार घण्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छ । भगवानको पूजा बढी प्रभावशाली र शीघ्र फलदायक हुने मान्यता रहेको छ । पुराणहरूमा उल्लेख गरिएअनुसार, सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो र मन्दिरमा घण्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुने गर्छ ।

Loading...