fbpx

उमेर २१ वर्ष, उचाइ ३१ इन्च

महानगरबाट विशेष सुबिधा पाउने

विराटनगर, २० कात्तिक । २१ वर्ष उमेर पुगेको युवकको उचाई कति हुन्छ ? सामान्यतया पाँच फिटदेखि माथि । तर, विराटनगरमा २१ वर्ष पुगेका एक युवाको उचाइ ३१ इन्च मात्र छ । विराटनगर–१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र छ ।

झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार २ गते जन्ममितिको आधारमा नागरिकता बनाएका छन् । विस २०६८ साल फागुन १४ गते दाङका चन्द्रबहादुर डाँगीले विश्वका होचो व्यक्तिको प्रमाण पत्र पाएका थिए । २१.५ इन्चका उनको ७३ वर्षको उमेरमा मृत्यु भएको थियो ।

जिउ सानो भएका प्रकाशको टाउको केही ठूलो छ । सामान्य परिवारका प्रकाशका आफन्तले मजदूरी गरेर गुजारा चलाउँछन् ।

महानगरबाट विशेष सुबिधा

विराटनगर महानगरपालिकाले महानगरका होचा व्यक्तिलाई विशेष सुबिधा दिन थालेको छ । महानगरले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ । महानगरले प्रकाश देशकै होचो व्यक्ति भएको दाबी गर्दै आएको छ ।

aaa

आमा बिमला सरदारको साथमा आएका प्रकाश नेपालकै होचो भएको दाबी परिवारको छ । महानगरले एक वर्षअघिदेखि प्रकाशलाई मासिक तीन हजार रुपैयाँ विशेष भत्ता दिन सुरु गरेको थियो । पूर्ण अपांगताको प्रमाण पत्र पाएपछि उनले मासिक ६ हजार भत्ता पाउनेछन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार अब प्रकाशले महानगरले दिने विषेश भत्ता र सामाजिक सुरक्षाबापत पाउने भत्ता पनि पाउने बताए ।

Loading...