fbpx

च्याम्पियन्स लिग : विजयी यात्रा कायमै राख्ने पीएसजीको लक्ष्य, नेयमारले नखेल्ने

एजेन्सी, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार मानिएको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो चौथो खेल खेल्दैछ । समूह चरणको चौथो राउण्डअन्तर्गत फ्रेन्च क्लब पीएसजीले बेल्जियन क्लब ब्रगसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

aa

नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेल पीएसजीको घरेलु मैदानमा हुनेछ । आजको खेलमा पीएसजी आफ्नो विजयी यात्रा कायमै राख्ने दाउमा हुनेछ । किनकी, पीएसजीले च्याम्पियन्स लिगमा ३ वटै खेलमा स्पष्ट जित निकालेको छ । समूह ‘ए’को शीर्ष स्थानको उसँग हाल ९ अंक छ ।

यता, पीएसजीको प्रतिद्वन्द्वी टोली क्लब ब्रग भने सो समूहको तेस्रो स्थानको टोली हो । क्लब ब्रगसँग २ अंक छ । तर, आजको खेलमा पीएसजीलाई हराउँदै ऊ अंक तालिकामा अगाडि बढ्ने दाउमा छ । र, पीएसजीको विजयी यात्रामा पूर्णविराम लगाउने दाउमा छ । यद्यपि, ब्रगलाई पीएसजीविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । किनभने, पीएसजी स्टार खेलाडीहरूले भरिपूर्ण टोली हो ।

आजको खेलमा पीएसजीका केही स्टार खेलाडीहरू टोलीमा हुने छैनन् । नेयमार आज टोलीमा हुने छैनन् । चोटका कारण उनी टोलीमा नपरेका हुन् । युईएफएले नेयमारलाई २ खेलमा प्रतिबन्ध लगाएपछि उनले च्याम्पियन्स लिगको खेलमा गुमाएका थिए । तर, आजबाट च्याम्पियन्स लिगमा फर्कने अवसर रहेपनि नेयमार चोटका कारण टोलीमा नहुने प्रशिक्षक थोमस टुचेलले जनाएका छन् ।

नेयमारबाहेक टोलीमा थोमस मुनियर र एन्डर हेरेर्राले यो खेल गुमाउन सक्ने जनाइएको छ । तर, कप्तान थियागो सिल्भा भने टोलीमा फर्किने सम्भावना रहेको छ । सिल्भासँगै एन्जल डी मारिया, इकार्डी, किलियन एम्बाप्पे जस्ता खेलाडीले सुरुआती ११ मा स्थान बनाउन सक्ने सम्भावना रहेको छ ।

Loading...