fbpx

यसरी छुट्याउनुहोस् सक्कली र नक्कली मह

विराटनगर, २० कात्तिक । महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । महको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । तर, आजकल शुद्ध मह भन्दै बजारमा नक्कली मह बेचिने गरेको सबैलाई थाहा नै छ । मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ ।

चिनी पानीमा मौरीको चाका भिजाएर ‘शुद्ध मह’ भन्दै बेच्ने गरिन्छ । आफ्नै अगाडि चाकाबाट निकालेको मह भएकोले त्यसलाई धेरैले विश्वास गर्ने गर्छन् । र, महको शुद्धताबारे जानकारी नभएकाहरू बजारमा ठगिने गरेका हुन्छन् ।

त्यसैले शुद्ध मह थाहा पाउनका लागि आफैँले केही सजिलो उपायहरू अपनाउन सकिन्छ । महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । मह पानीमा घुल्दैन, यदि पानीमा घुल्छ भने त्यो मह शुद्ध होइन । काँचको गिलास या कचौरामा तातो पानी भरेर एक चम्चा मह हाल्दा पानीमा मह घुल्यो भने यसमा मिसावट छ भनेर बुझ्न सकिन्छ ।

महको शुद्धताको जाँच गर्नका लागि टिस्यु पेपरको पनि प्रयोग गर्न सकिन्छ । टिस्यु पेपरमा महको एक एक थोपा हाल्दा पेपरले महलाई सोछेर लियो भने महमा पानीको मिसावट छ भनेर बुझिन्छ । शुद्ध मह पेपरको माथि नै रही रहन्छ । पाउरोटी पनि महको परीक्षणमा सहयोग पुर्याउन सक्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा कडा हुने गर्द भने मिसावट भएको मह पाउरोटीमा लगाउँदा अझ नरम हुने गर्छ ।

यी तरिकाहरूबाट जाँच गर्न सकिएन भने महलाई आगोमा पनि परीक्षण गर्न सकिन्छ । मह आगोमा छिट्टै जल्ने गर्छ । एउटा काठमा मह दलेको कपासलाई मैनबत्तीमा बाल्दा उक्त कपास बल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । तर, त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

Loading...