fbpx

‘च्याम्पियन्स लिगको उपाधि टोटनह्यामले जित्न सक्छ’

एजेन्सी, २० कात्तिक । इंग्लिस क्लब टोटनह्याम हटस्परका कप्तान ह्यारी केनले आफ्नो क्लबले अझैपनि च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने दाबी गरेका छन् । च्याम्पियन्स लिगअन्तर्गत सर्बियन फुटबल क्लबविरुद्ध भिड्नुअघि इंग्ल्याण्डका स्टार केनले यस्तो दाबी गरेका हुन् ।

समूह चरणको चौथो राउण्डअन्तर्गत उपविजेता टोटनह्याम हटस्परले सर्बियन क्लब क्रेभेना ज्भेज्दासँग प्रतिस्पर्धा गर्दैछ । राति १ः४५ बजेबाट हुने उक्त खेल ज्भेज्दाकै मैदानमा हुनेछ । हाल ऊ समूह ‘ई’को दोस्रो स्थानमा छ । ३ खेलबाट ४ अंक बनाएको ऊ आज हुने खेलमा जित हासिल गर्दै शीर्ष स्थानको बायर्नसँग अंक दूरी घटाउने योजनामा छ । अपराजित रहेको बायर्नले ९ अंक बनाएको छ ।

यस खेलअघि ‘द डेली स्टार’सँगको कुराकानीमा केनले अझैपनि च्याम्पियन्स लिगको उपाधि आफ्नो क्लबले जित्न सक्ने बताएका हुन् । अघिल्लो सिजनका टोटनह्याम लिभरपुलसँग फाइनलमा स्तब्ध बनेको थियो । लिभरपुलसँग उपाधि भिडन्तमा हारेपछि ऊ उपविजेतामा सीमित बन्न पुग्यो । तर, अझै पनि आफ्नो क्लब युरोपियन च्याम्पियन बन्न सक्ने केनको दाबी छ ।

‘हामी जितका लागि संघर्ष गरिरहेका छौं’ उनले भने, ‘आज हामीले अवे खेल खेलिरहेका छौं र यसमा पनि जित निकाल्नेमा म विश्वस्त छु । हामी अहिले नै स्तब्ध हुँदैनौं । अघिल्लो वर्ष पनि हामीले उपाधि भिडन्त खेलेका थियौं । हाम्रो लागि अघिल्लो सिजन राम्रो रह्यो । अब यसपाली हामी अझै अगाडि बढ्ने लक्ष्यमा छौं ।’

यस्तै उनले आफूहरू उपाधि जित्ने अभियानमा रहेको बताए । ‘हामी हरेक खेल जित्न चाहन्छौं र यहाँबाट उपाधि जित्न चाहान्छौं,’ उनले थपे, ‘जब हामीले ट्रफी जित्छौं त्यो नै हाम्रो सफता हो । फाइनलमा पुग्ने मात्र नभएर टोटनह्यामले च्याम्पियन्स लिगको उपाधि पनि जित्छ ।’

Loading...