fbpx

पत्रपत्रिकामा प्रदेश : को होला पूविको उपकुलपति

विराटनगर २० कात्तिक । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को उपकुलपतिमा नियुक्त हुन दर्जन बढी प्राध्यापकहरुले चासो देखाएका छन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार उपकुलपतिमा नियुक्तिका लागि आवेदन दिएका हुन् ।

उपकुलपतिमा आवेदन दिनेहरुमा कार्यवाहक उपकुलपति प्राडा. बिजुकमार थपलिया, पूर्वक उपकुलपति शिरिष रिजाल छन् । यस्तै कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन डा. शम्भुप्रसाद कोइराला, परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौला, योजना महाशाखा प्रमुख प्राध्यापक सञ्जेशप्रसाद कोइराला लगायतका छन् ।

शिक्षा मन्त्रालय श्रोतका अनुसार केहीले पूविको लागि मात्रै र केही अन्य विश्वविद्यालयको लागि समेत आवेदन दिएका छन् । मन्त्रालयले यही कात्तिक ९ गते सूचना निकालेर आवेदन मागेको हो । यो समाचार उद्घोष दैनिकले छापेको छ ।

‘छोकडाको आयात चार गुणाले बढ्यो : नेपालमा खपत हुँदैन्, निर्यात भएको तथ्यांक छैन्’ शिर्षकमा जनविद्रोहले खबर छापेको छ । ट्रेन्डिङ व्यापारमा संलग्नहरु यतिबेला छोकडाको कारोबारमा आकर्षित भएका छन् । भारत र पाकिस्तानबीच उत्पन्न तनावले पाकिस्तानबाट भारतले छोकडा आयात गर्न छोडेपछि नेपालमा भने यसको आयात ४ गुणाले बढेको हो ।

पछिल्लो तीन वर्षयता छोकडाको माग वृद्धि भइरहेको देखिएपनि नेपालमा खपत नभइ अनौपचारिक रुपमा भारतीय बजार पुग्ने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भारतबाट ५ लाख ४३ हजार ७ सय ५० किलोग्राम छोकडा नेपाल आयात भएको छ । विराटनगर भन्सार कार्यालयले ५ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको छोकडा आयात भएको र १ करोड ८ लाख ५० हजार रुपैयाँ भन्सार महशुल संकलन भएको जनाएको छ ।

यसअघिका दुई आर्थिक वर्षको तीन महिनाको अवधिमा भने विराटनगर भन्सार कार्यालयबाट १ लाख २२ हजार ६ सय ६० किलो छोकडा आयात भएको थियो । यो तथ्यांक अनुसार नेपाल आयात भएको छोकडा भारततर्फ तस्करी भइरहेको देखाउने जनविद्रोह दैनिकले लेखेको छ ।

औषधिमा ठगी गर्नेहरु अझै पक्राउ नपरेको खबरपनि जनविद्रोह दैनिकमा छ । विराटनगर ९ मा रहेको साक्षी मेडिकल हलका सञ्चालकहरु अझै पक्राउ नपरेका हुन् । ठगीमा संलग्न सिरहाको गोलबजार घर भएका निराजन शाक्य र सप्तरीको चन्द्रशेखर यादव खुलेआम घुमफिर गरेपनि प्रहरीले पक्राउ नगरेको हो । औषधिको परिमाण बढाएर बिक्रि गरेको आरोपमा ठगी गर्न निर्देश दिएको आरोपमा उनीहरुलाई फरार प्रतिवादी बनाएर प्रहरीले अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरिरहेको छ ।

ब्लाष्ट टाइम्समा खुला सीमानाको कारण सुनसरीमा हत्याका घटना बढ्दो भएको समाचार छापेको छ । सुनसरी प्रहरीले पुराना हत्याका घटनाका संलग्नहरुलाई पक्राउ गर्न सकिरहेको छैन् ।

सुनसरीका मुस्लिम अगुवा खुर्सीद आलमको हत्यामा संलग्नलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन् । गत वर्ष ४ असोजमा खुर्सीद आलम र मंसिर ३ गते दुहबीका व्यवसायी फिदा हुसेनको हत्या भएको थियो । खुल्ला सीमानाको कारण सुरक्षा चुनौती बढेको प्रहरी नै बताउँछन् । प्रदेश १ का १४ जिल्ला मध्ये सुनसरीमा नै सबै भन्दा बढी आपराधिक कृयाकलाप हुने गरेको तथ्यांकले देखाएको छ ।

हत्या, चोरी, लुटपाट, बलात्कारजन्य अपराध प्रदेश १ कै धेरै हुने जिल्लामा सुनसरी परेको हो । सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले खुल्ला सीमानको कारण केही समस्या भएको बताए ।

Loading...