fbpx

आठ गोल भएको नाटकीय खेलमा चेल्सी र आयाक्सले बराबरी खेले

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले बराबरी खेलेको छन् । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा चेल्सी र आयाक्सले ४–४ गोलको बराबरी खेलेका हुन् ।

चेल्सीको घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीका लागि जोर्गिन्होले २ तथा केसार अल्पिलिकुएटा र रीस जेम्सले समान एक–एक गोल गरे । यता, आयाक्सका लागि क्वीन्सी प्रोमेस र डन्नी भान बीकले समान एक–एक गोल गरे भने २ आत्मघाती गोल उपहारमा पाएको थियो । चेल्सीका ट्याम्मी अब्राहक र केपा अर्रीजाबालागाले आफ्नै पोस्टमा गोल लगाएका थिए ।

पाहुना टोली आयाक्सले आत्मघाती गोलबाटै सुरुआती अग्रता बनाएको थियो । चेल्सीका अब्राहमले खेलको दोस्रो मिनेटमै आत्मघाती गोल गरेपछि आयाक्सले सुरुआती अग्रता बनायो । तर, खेलको चौथो मिनेटमै जार्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । यस्तै खेलको २०औं मिनेटमा प्रोमेसले गोल गर्दै आयाक्सलाई पुनः अग्रता दिलाए ।

खेलको ३५औं मिनेटमा चेल्सीका अर्रीजाबालागाले आत्मघाती गोल गर्दै आयक्सलाई ३–१ गोलको अग्रता दिलाइदिए । खेलको ५५औं मिनेटमा भान डी बीकले गोल गर्दै आयाक्सलाई ४–१ गोलको फराकिलो अग्रता दिलाए । तर, खेलको ६३औं मिनेटमा केसारले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे ।

खेलको ६८औं मिनेटमा र ६९औं मिनेटमा आयाक्सका २ खेलाडीले रातो कार्ड पाएपछि ऊ ९ खेलाडीमा सीमित बन्न पुग्यो । त्यसको फाइदा चेल्सीले उठायो । खेलको ७१औं मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गर्दै खेल ४–३ को अवस्थामा ल्याए । यस्तै खेलको ७४औं मिनेटमा जेम्सले गोल गर्दै ४–४ गोलको बराबरी बनाए । र, बाँकी समयमा गोल हुन नसक्दा दुवैले बराबरी अंक बाँडे ।

यो जितसँगै समूह ‘एच’को शीर्ष स्थानको टोली चेल्सीले ७ अंक बनाएको छ । दोस्रो स्थानको आयाक्ससँग पनि समान ७ अंक नै छ । तर, गोलान्तरको आधारमा चेल्सी शीर्ष स्थानमा छ । सो समूहको तेस्रो स्थानमा भ्यालेन्सिया रहँदा पुछारमा लिले छ ।

Loading...