fbpx

च्याम्पियन्स लिग : डर्टमुण्डले इन्टर मिलानलाई हरायो

विराटनगर, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुडले जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा डर्टमुण्डले इटालियन क्लब इन्टर मिलानविरुद्ध ३–२ गोलको जित निकालेको हो ।

डर्टमुण्डकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन अच्रफ हाकामीले २ गोल गरे भने जुलियन ब्रन्डतले एक गोल गरे । यता, इन्टरका लागि लाउटारो मार्टिनेज र माटियास भेकिनोले समान एक–एक गोल गरे ।

डर्टमुण्डले इन्टरको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । पहिलो हाफभरि इन्टरले दोब्बर अग्रता बनाएको थियो तर, दोस्रो हाफमा घरेलु टोली डर्टमुण्डले खेल आफ्नो पक्षमा लियो । खेलको पाँचौं मिनेटमा मार्टिनेजको गोलमा इन्टरले अग्रता बनाएको थियो । यस्तै खेलको ४०औं मिनेटमा भेकिनोले गोल गरेपछि उसले २–० गोलको अग्रता लियो ।

तर, खेलको ५१औं मिनेटमा हाकामीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयत्न गरे । यस्तै खेलको ६४औं मिनेटमा ब्रन्डतले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो । यस्तै खेलको ७७औं मिनेटमा हाकामीले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै टोलीलाई जिताए ।

यस जितसँगै डर्टमुण्डले ७ अंक बनाएको छ । ऊ समूह ‘एफ’ को दोस्रो स्थानमा छ । पराजित इन्टर भने ४ अंकसहित तेस्रो स्थानमा छ । सो समूहको शीर्ष स्थानमा भने बार्सिलोना छ, उसँग ८ अंक छ ।

Loading...