fbpx

च्याम्पियन्स लिग : बार्सिलोनाको फित्तलो प्रदर्शन, आफ्नै मैदानमा बराबरीमा रोकियो

विराटनगर, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि दाबेदार क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा बार्सिलोना चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा पटक–पटक गोल गर्नबाट चुक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो । कप्तान लियोनल मेस्सीले दोस्रो हाफमा तीनपटक गोल गर्ने मौका पाएका थिए । तर, उनी सफल हुन सकेनन् । मेस्सीले उपलब्ध गराइदिएको पासमा एन्टोइन ग्रिजम्यानले गोल गरेका थिए तर ५८औं मिनेटमा उनले गरेको त्यो गोल अफसाइड पोजिसनमा रहेकोले रद्द गरियो ।

यता, पाहुना टोलीले पनि पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । तर, त्यो गोल अफसाइड पोजिसनमा रहेकोले रद्द गरियो । यस बराबरीसँगै समूह ‘एफ’ को शीर्ष स्थानको बार्सिलोनाले ८ अंक बनाएको छ । बार्सिलोनाले ४ खेल खेल्दा २ वटामा जित र २ खेलमा बराबरी खेलेको छ ।

यता, बार्सिलोनाको प्रतिद्वन्द्वी प्रहा भने उक्त समूहको पुछारमा छ । प्रहासँग २ अंक भएको छ । यस्तै उक्त समूहको दोस्रो स्थानमा डर्टमुड छ भने तेस्रोमा इन्टर मिलान रहेको छ । उनीहरूसँग क्रमशः ७ र ४ अंक छ ।

Loading...