fbpx

‘महोत्सव’ मा सहभागी हुन गोविन्दा नेपाल आउँदै

विराटनगर, १९ कात्तिक । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनका लागि गोविन्दा नेपाल आउने भएका हुन् ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले उनलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको जानकारी दिएका छन् । निर्माता सङ्घका अध्यक्ष अधिकारीका अनुसार एक पटकको आग्रहलाई नै सजिलै स्वीकार गर्दै उनी नेपाल आउन मानेका हुन् । तीन दिनसम्म चल्ने उक्त चलचित्र महोत्सवमा नेपाली चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुने भएका छन् ।

नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटनका लागि कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । गोविन्दा कार्यक्रम हुनुभन्दा २ दिन अगाडि नेपाल आउन लागेका हुन् ।

उक्त सेड्युल गोविन्दा आफैँले बनाएका हुन् । उनी २१ गते बिहानै वीरगन्ज पुगेर आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको अधिकारीले बताए । गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् र गोविन्दालाई मनपर्ने देश पनि नेपाल नै भएको हुनाले नेपाल आइरहने गर्छन् ।

Loading...