fbpx

‘घामड शेरे’को दोस्रो ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १९ कात्तिक । फिल्म ’घामड शेरे’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । समाज र सिस्टमप्रति व्यंग्य गरेको हेमराज बिसी निर्देशित फिल्मले अर्को ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ट्रेलर निकै कमेडी शैलीमा तयार गरिएको छ । वर्षौँ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतार–चढावको कथालाई फिल्ममा समावेश गरिएको छ । रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा रियल कपल निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।

मानव समाजमा जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने व्यक्तिलाई घामड भन्ने गरिन्छ र फिल्ममा निश्चलले घामडको पात्र निभाएका हुन् । फिल्ममा यी दुइका साथै सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोय लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ ।

निर्देशक विसीले होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा रहेर फिल्मको कथा तथा पटकथालाई आफै लेखेर निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायांकनमा तयार भएको फिल्मको अधिकांश छायांकन सुर्खेत र काठमाडौँमा भएको हो । फिल्म कार्तिक २२ गते प्रदर्शनमा आउने भएको छ । निश्चल र स्वस्तिमा फिल्म ‘घामड शेरे’ मार्फत पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेका कारणले पनि फिल्मको दर्शकमा व्यग्र प्रतीक्षा रहेको छ ।

Loading...