fbpx

यसकारण हुन्छ निमोनिया (लक्षणहरूसहित)

विराटनगर, १९ कात्तिक । अहिलेको समय निमोनिया हुने समय हो । निमोनिया भन्नाले श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने संक्रमण हो । निमोनिया सामान्यदेखि गम्भीर प्रकृतिको हुन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । यसले फोक्सोमा नकारात्मक असर पुर्याउने गर्छ ।

डा. झलक शर्मा गौतमका अनुसार फोक्सोमा भएको ससाना हावा भरिने थैलीहरूमा पीप र तरल पदार्थले भरिँदै जाने हुँदा सास फेर्न निकै धौधौ हुन्छ । जसकारणले शरीरलाई अक्सिजन पनि पुग्दैन । बाहिरी वातावरणमा रहेका स्ट्रेप्टोकोकस ब्याक्टेरिया, न्युमोनी, इन्फ्लुएन्जा टाइप बी जस्ता जीवाणु, कीटाणु तथा ढुसीलगायतले निमोनिया गराउने गर्छ ।

निमोनिया धेरै तरिकाले फैलने गर्छ । धेरैजसो व्यक्तिहरूको नाक र घाँटीमा रहेका विषाणु र जीवाणुहरू श्वास फेर्दा वा कुनै माध्यमले फोक्सोमा पुगेमा फोक्सोमा संक्रमण हुन पुग्छ । खोक्दा वा हाछ्यूँ गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण गराउने हुँदा निमोनिया लाग्न सक्छ ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका तथा व्यक्तिहरूलाई निमोनियाले सताउँछ । खासगरी कुपोषित, आमाको दूध राम्रोसँग खान नपाएका, दादुराको संक्रमण भएका बालबालिकामा निमोनियाको संक्रमण बढी हुने जोखिम रहेको देखिन्छ ।

त्यस्तै, वातावरणमा भएका धुलो, धुवाँ, धूमपान र भीडभाडमा बसोबास गर्ने व्यक्तिहरूलाई पनि निमोनिया हुने सम्भाना हुन्छ । बारम्बार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने हुँदा छिटो छिटो सास फेर्नुपर्ने, घाँटी दुख्ने, ज्वरो आउन वा नआउन सक्ने, जाडो भएर शरीरमा कम्पन हुने, शरीरको तापक्रम कम हुने, बेहोससमेत हुने लक्षणहरू हुन सक्छन् । निमोनियाको लक्षण देखिनेबित्तिकै अस्पताल गएर उपचार गर्नेतर्फ ध्यान दिनुपर्छ ।

आफूखुसी जथाभावी औषधि सेवन गर्नु हुँदैन । यसले रोगलाई अझ जटिल बनाइदिन सक्छ । डाक्टरहरूको सल्लाहअनुसार एन्टिबायोटिक औषधिहरूको सेवन गर्नुपर्ने हुन्छ । गम्भीर खालको निमोनिया भएको बिरामी बेहोस हुने हुँदा यस्तो बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । सामान्य ध्यान दिने हो भने यो रोगबाट जोगिन सकिन्छ ।

Loading...