fbpx

दयाहाङले ‘लप्पन छप्पन २’बाट झिके हात, शिवका छोरा शक्तिलाई मौका

विराटनगर, १९ कात्तिक । चर्चित अभिनेता दयाहाङ राईले छायांकनको बीचमा रहेको फिल्म ‘लप्पन छप्पन २’ छाडेका छन् । दयाहाङले फिल्म छाड्नुको कारण उपेन्द्र सुब्बाको फिल्म ‘जारी’ रहेको छ । दयाहाङले दशैंभित्र ‘लप्पन छप्पन २’ को छायांकन पूरा गरी तिहारपछि ‘जारी’लाई समय निकाल्ने तालिका बनाएका थिए । तर, ‘लप्पन छप्पन २’ को छायांकनमा ढिलाइ भएपछि उनले फिल्म छाडेका हुन् ।

अभिनेत्री मिरुना मगरसँग जोडी बाँधिएको फिल्मको अहिले पाँचथरमा छायांकन भइरहेको छ । दयाहाङले फिल्मबाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ । फिल्ममा शक्ति प्रहरीको भूमिकामा हुने बताइएको छ । शक्ति लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । जानकारी अनुसार, ‘लप्पन छप्पन २’ मा शक्तिलाई शिव श्रेष्ठले सिफारिस गरेको खुलेको छ ।

फिल्ममा शिवको पनि अभिनय रहेको हुँदा फिल्मबाट दयाहाङ हटेपछि शिवले आफ्नो छोरालाई लिन निर्माण टिमलाई आग्रह गरेको छ । शिवले अभिनेता सौगात मल्लको पिताको भूमिका निभाउँदै छन् । मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने छन् । फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् । पुरुषोत्तम प्रधानको छायांकनमा तयार हुँदै गरेको फिल्ममा निर्मातामा चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटी, सहनिर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना र कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मलकुमार मिश्र रहेका छन् ।

अभिनेता दयाहाङ राईले फिल्म ‘लप्पन छप्पन’ को पहिलो श्रृंखलामा प्रहरी अफिसरको भूमिका निभाएका थिए । यो फिल्म बक्सअफिसमा असफल भएको थियो । तर, निर्माण टिमले फ्लप फिल्मको सिक्वेल बनाउने जोखिम उठाएको हो । फिल्मको नाम र कलाकार दोहोरिए पनि फिल्मको कथा बेग्लै हुने निर्माण टिमले बताएको छ । फिल्म महाशिवरात्रीको दिन प्रदर्शनमा आउने भएको छ ।

Loading...