fbpx

दयालु खोज्न बाध्य तेह्र बालबालिका स्मृति विद्यालय

विराटनगर, १९ कातिक । चम्किलो रङ पोतिएका सुग्घर भवन । सुन्दर फूलबगैँचा । सफा खेल्ने मैदान । सुकिला र हँसिला विद्यार्थी र शिक्षकहरू । शान्त अनि अनुशासित वातावरण । बसबाट विद्यालय आउने–जाने विद्यार्थीहरू ।

झट्ट हेर्दा लाग्छ यो कुनै धनीमानीहरूका छोराछोरीहरू मात्र पढाउने महँगो निजी विद्यालय हो । तर, होइन यो त १३ वर्षअघि सुनसरीको चतरा नहरमा टेम्पो दुर्घटना हुँदा मृत्यु भएका १३ जना बालबालिकाहरूको सम्झनामा खोलिएको आधारभूत सरकारी विद्यालयको हो ।

aa

तर अचम्म ? तपाईँलाई लाग्ला सरकारी व्यवस्थानकै कारण आहा ! विद्यालय कति राम्रो भएको हगी भनेर । तर, होइन यहाँका शिक्षकहरूले मेहनत गरेर खोजेका दयालु दाताहरूको सहयोगले मात्र यो विद्यालयबाट यति राम्रो भएको हो । सबै कक्षामा सबै विषय अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा सरकारको तर्फबाट चाँहि एक स्थायी र एक जना करार शिक्षक अनि एक जना पियन र एक स्वयंसेवकको मात्र दरबन्दी छ ।

महँगो बोर्डिङ स्कुलसरह निःशुल्क पठनपाठन

सरकारकै उपेक्षाले गर्दा सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीस्थित ७२ बिघेमा अवस्थित तेह्र बालबालिका स्मृति आधारभूत इंग्लिस स्कुल स्थापना भएको १३ वर्ष पुगिसक्दा पनि दीगो रूपले आत्मनिर्भर हुन सकेको छैन । र, अझै आर्थिक अभावकै कारण बर्सेनि दयालु दाताहरू खोज्न बाध्य भइरहेको छ । सरकारले उपेक्षा गरेपनि दयालु दाताहरूकै सहयोगले आफैँले १८ जना शिक्षक कर्मचारी नियुक्त गरेर अंग्रेजी माध्यममा स्तरीय वोर्डिङ स्कुलसरह कक्षा ७ सम्म ३ सय जना विद्यार्थीहरू निःशुल्क पठनपाठन गराइरहेको छ ।

विद्यालयका हर्ताकर्ता शिक्षक सुनिल तिम्सिनाका अनुसार दयालु दाताहरूले सहयोग नगर्दा कार्यरत १८ जना शिक्षक कर्मचारीहरूलाई तलब खान समस्या हुन्छ । सरकारको तर्फबाट हाल सुनिल तिम्सिना एक जना मात्र स्थायी दरबन्दीका शिक्षक हुन् । बाँकी शिक्षकहरू सबै दयालु दाताहरूको सहयोगमा ७ हजारदेखि १८ हजारसम्म तलब लिएर पठनपाठन गराउँदैछन् ।

aa

सरकारले विद्यालयलाई मासिक मसलन्द खर्च १५ हजार र बर्सेनि १ लाख बराबर छात्रवृत्तिको रकम मात्र निकाशा दिने गरेको छ । विद्यालय संचालन गर्न वर्षभरिको खर्च ५० लाख जति आउने गरेको र त्यो सबै दयालु दाताहरूकै सहयोगले चल्ने गरेको शिक्षक तिम्सिनाले बताए । अंग्रेजी माध्यममा गुणस्तरीय पढाइ हुने भएकोले अभिभावहरूले विद्यार्थीहरूले पाउने खाजा खर्चको दैनिक १५ रुपैयाँ रकम विद्यालयलाई सहयोग गरिदिने गरेका छन् । अथक मेहनत गरेर विद्यालयलाई नामी बनाउन सफल भएका शिक्षक तिमल्सेना भन्छन्, ‘दाताहरूले सहयोग नगर्दा शिक्षक कर्मचारीलाई तलब दिनै गाह्रो हुन्छ । कहिलेकाँही आफ्नो एकमुष्ट तलब दिएर पनि काम चलाउने गर्छु ।’

यसरी स्थापना भएको थियो विद्यालय

विद्यायबाट फर्कने क्रममा चतरा नहरमा टेम्पो दुर्घटना हुँदा २६ बैशाख २०६३ मा एउटै गाउँ ७२ विगाहका १० सहित १३ जना बालबालिकाहरुको मृत्यु भएको थियो । वरिपरि स्कुल नभएकै कारण टाढा जानुपर्ने बाध्यताले बालबालिकाहरूले ज्यान गुमाउनु परेपछि सरकारले मृत्यु भएका तेह्र बालबालिकाहरूको सम्झनामा २०६४ मा एक जना शिक्षक र पियनको दरबन्दी दिएर आधारभूत विद्यालय स्थापना गराएको थियो । तर, सरकारी उपेक्षा र सही व्यवस्थापनको अभावमा ६ वर्ष चलेर उक्त विद्यालय बन्द भएको थियो ।

शिक्षक सुनिल तिमल्सिनाको मेहनतले नामी बनायो विद्यालय

सोही नपाको ७ नम्बर वडा निवासी शिक्षक सुनिल तिमल्सिना दरबन्दी लिएर २०७१ मा आएपछि उक्त बन्द विद्यालय पुनः सञ्चालन हुन थालेको थियो । उनै शिक्षक सुनिलले अथक मेहनत गरेर बाँकी रहेका ६ जना विद्र्याीहरूको संख्या बढाएर हाल ३ सय पुर्याएका हुन् । उनकै कारण विद्यालय सफासुग्घर, भौतिक पूर्वाधार सम्पन्न र अनुशासित मात्र नभएर महंगो अंग्रेजी स्कुलभन्दा प्रसिद्ध बन्न पुगेको छ ।

कानूनमा एलएलबी, व्यवस्थापनमा स्नातोकोत्तर र शिक्षामा विएड उत्तिर्ण उनी वाककला प्रशिक्षक पनि हुन् । प्रशिक्षणमा कमाएको पैसा पनि उनले विद्यालयमै खर्चने गरेका छन । आफूहरूले अथक मेहनत गरेर विद्यालयलाई नमुना बनाउन सफल भएपनि सरकारको तर्फबाट अझै उपेक्षा भइरहँदा सधैँ मगन्तेझैँ भइरहनुपरेको शिक्षक सुनिलले गुनासो गरे ।

सही दरबन्दी मिलान भए विद्यालय आत्मनिर्भर हुन सक्छ

सरकारले सही दरबन्दी मिलान गरेर विद्यार्थी संख्याअनुसार शिक्षक कर्मचारी नियुक्त गरिदिए विद्यालय दीगो रूपमा आत्मनिर्भर हुनसक्ने र सधैँ दाताहरू खोजेर हिँडिरहनु पर्ने मगन्ते बाध्यता अन्त्य हुने शिक्षक तिम्सिनाले बताए । उनले भने, ‘रामधुनी नगरभित्रका विद्यालयहरूमा मात्र दरबन्दी सही ढंगले मिलान गर्ने हो भने हाम्रो समस्या सहजै समाधान हुनेथियो ।’

बर्सेनि बढ्दै विद्यार्थीहरू

उनका अनुसार स्तरीय पढाइ, पूर्ण आत्मअनुशासन, अतिरिक्त क्रियाकलापले गर्दा विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरू बर्सेनि बढ्न थालेका छन् । सरकारी विद्यालय भएकोले भर्ना लिन्न भन्न नपाइने हुँदा गुणस्तर कायम राखेर विद्यालय संचालन गर्न समस्या भइरहेको छ । बर्सेनि बढ्दो विद्यार्थी संख्याले गर्दा भवन पनि अभाव भएको छ । भर्खरै समान्य प्रशासन मन्त्रालयले एउटा पुरानो बस विद्यालयलाई पठाइदिएकोले विद्यार्थीहरू बसबाटै निःशुल्क विद्यालय आवत–जावन गर्न थालेका छन् । तर, चालक र इन्धन अनि मर्मत खर्च बेर्होन विद्यालयलाई भार थपिएको छ । यसैले विद्यालय सञ्चालनको खर्च जुटाउन जेसिज, रोटरीलगायत विभिन्न संघसंस्थाहरूसँग हारगुहार गरिरहेको शिक्षक सुनिलले बताए ।

जेसी अशोक शंकरले जिम्मा लिए पाँच वर्षको पोशाक खर्च

सहयोग गर्ने दाताहरूको सम्मानसँगै उनीहरूलाई आर्कषित गर्न विद्यालयले दाताहरूलाई बर्सेनि बालबालिकाहरूको स्मृतिका दिन कार्यक्रम आयोजना गरेर सम्मान गर्ने गरेको छ । सर्वसधारणका छोराछोरीलाई निःशुल्क गुणस्तरीय शिक्षा पढाउनेमा तेह्र बालबालिका विद्यालय उदाहरण बनेकोले आफूले पाँच वर्षसम्म सबै बालबालिकाहरुलाई पोशाक निःशुल्क प्रदान गर्ने जिम्मा लिएको नेपाल जेसिजका पूर्वकार्यकारणी उपाध्यक्ष अशोक शंकरले बताए । उनले भने, ‘सरकारले उपेक्षा गरेपनि नेपाली मनहरूले विद्यालयलाई सहयोग निरन्तर जारी राख्नुपर्छ भन्ने लागेर यो सहयोग गरेको हुँ ।’

Loading...