fbpx

‘सेन्टी भाइरस’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक

विराटनगर, १९ कात्तिक । फिल्म ‘सेन्टी भाइरस’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’लाई मात्र फिचर्ड गरिएको देखिन्छ ।

पोस्टरका साथै फिल्मको प्रदर्शन मितिसमेत सार्वजनिक भएको छ । सामाजिक व्यंग्यमा आधारित रहेको फिल्म यहि फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरे मुख्य भूमिकामा छन् । यी दुईका साथै फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारको पनि अभिनय रहेको छ ।

aa

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माणमा बनेको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाई फुर्पाको लगानी रहेको छ । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

२ करोड लगानीमा तयार हुन आँटेको फिल्म ‘सेन्टी भाइरस’को मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने भएको छ । चर्चित हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ मा लामो समय ‘धुर्मुस–सुन्तली’ को भूमिका र समाजसेवामार्फत् दर्शकको मन जितेका ‘धुर्मुस–सुन्तली’ले ‘सेन्टी भाइरस’ बाट पहिलो पटक फिल्म निर्माणमा होमिएका हुन् ।

Loading...