fbpx

इटहरी उपमहानगरद्वारा चार सन्तान अपाङ्ग रहेको परिवारलाई १ लाख सहयोग

इटहरी, १८ कात्तिक । प्रदेश एकको इटहरी उपमहानगरले एउटै घरका ४ सन्तान अपांग भएको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतमले इटहरी–२ तामाङ चौकस्थित लक्ष्मण तामाङको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मण तामाङका चारै सन्तान अपांग छन् । हिँड्न र बोल्न पनि नसक्ने अवस्थाका उनीहरूको स्याहारसुसारको लागि उक्त रकम सहयोग गरिएको मेयर द्वारिकलाल चौधरीले बताएका छन् । लक्ष्मण तामाङका चारै सन्तान एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोराछोरी सुतिरहेका छन् ।

१४ देखि २९ वर्षसम्मका दुई छोरा र दुई छोरी उनीहरू कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरोबाहेक कोही पनि बोल्नसमेत सक्दैनन् । उठेर हिँडन त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलिअलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । सोही परिवारका लागि उपमहानगरले सहयोग रकम उपलब्ध गराएको हो ।

यसअघि उपमेयर गौतमले घरमै पुगेर चारैजनालाई अपांगता रेडकार्ड दिएकी थिइन् । अहिले उनीहरूले मासिक ३ हजारका दरले भत्तासमेत पाउँदै आएका छन् । इटहरी सरकारको सहयोगप्रति आभार ब्यक्त गर्दै उनीहरूका वुवा लक्ष्मण तामाङले भने, ‘सिंह दरवार गाँउगाँउमा भन्थे, इटहरी सरकार घरमै आइपुग्यो खुशी लागेको छ ।’

तस्बिर : लीलाराज भट्टराईको फेसबुकबाट

Loading...