fbpx

च्यातिएका लुगा लगाउँदा भविष्य कमजोर !

विराटनगर, १८ कात्तिक । विदेशीहरू तथा आधुनिकताको सिको गर्दै अहिले नेपालमा समेत च्यातिएका, कोतरिएका, टालेका लुगा लगाउने चलन बढेर आएको देख्न सकिन्छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर बनाउने गरिएको छ ।

यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाइरहेका छन् । धार्मिक विद्वानहरूले आधुनिकताको नाममा च्यातिएका लुगा लगाउनु अशुभ मानिने बताउँछन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र गरेको कामहरूमा प्रगतिसमेत नहुने उनीहरूको भनाइ रहेको छ ।

च्यातिएको वस्त्र लगाउनु अशुभ हुने तथा लक्ष्यमा कहिले पनि नपुग्ने प्रा डा देवमणि भट्टराई बताउँछन् । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा बाधा बन्ने उनको विश्लेषण रहेको छ । मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको बताउँदै च्यातिएका कपडा लगाउने मानिसहरूको भविष्य कमजोर हुने उनले थपे ।

साथै छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीत लिंगीहरूको आकर्षण बढ्ने हुँदा यसकारणले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा च्यातिएका लुगाहरू लगाउन नहुने उनी बताउँछन् । टुटेफुटेका भाँडाहरू घरमा राखेमा अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल बताउँछन् ।

च्यातिएका कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुने हुँदा जति कमाए पनि सधै नोक्सान हुने गर्छ । कपडा भनेको सम्मान र इज्जतको प्रतीक हुने हुँदा आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदीको भनाइ रहेको छ ।

Loading...