fbpx

बंगलादेशले टि २० मा पहिलो पटक हरायो भारतलाई

विराटनगर १८ कात्तिक । बंगलादेशले टि २० खेलमा पहिलो पटक भारतलाई हराउन सफल भएको छ । पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको हो । दिल्लीमा आइतबार रातिको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गर्याे ।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि मुश्फिकुर रहिमले उत्कृष्ट प्रदर्शन गरे । ४३ बलको सामना गर्दै ८ चौका र १ छक्का हानेका रहिमले अविजित ६० रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिषभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए ।

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेशले १–० को अग्रता बनाएको हो ।

Loading...