विर्तामोड १७ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सोमबार(आज)को खेलमा आक्रमक फुटबल क्लब सिक्किमसँग बेलबारी ११ भिड्दै छ ।
विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा पाहुना टोली सिक्किमले उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई हराएको थियो । यस्तै बेलबारी भने बाई पाएर सिधै दोश्रो चरणमा पुगेको हो ।
जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोट्र्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको हो । आजको खेलमा विजयी हुने टिम सेमिफाइनलमा पुग्ने छ । आइतबार भएकाे दाेस्राे खेलमा झापा ११ लाइ पराजित गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेकाे छ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कोशी अनलाइनले गरिरहेको छ ।