fbpx

पत्रपत्रिकामा प्रदेश : बनिनसक्दै भत्कियो विराटनगरको ढल र सडक

विराटनगर १८ कात्तिक । मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाले विराटनगर महानगरपालिकामा निर्माण गरिरहेको ढल, नाला र सडक बनिनसक्दै भत्किन सुरु गरेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २ अर्ब ९५ करोड रुपैयाँ लगानीमा सुरु भएको परियोजना अन्तर्गत ६५ किलोमिटर सडक, ढल र नाला निर्माण भइरहेको छ । निर्माण भएको धेरै स्थानमा भने सडक उक्किन थालेको छ । ढल र नाला भत्किएर पानी बजार क्षेत्रमा असरल्ल बग्दा सर्वसाधारण हैरान छन् । यो समाचार कान्तिपुर दैनिकमा छ । परियोजनाको  सीटीसी -कालिका गरेको हो ।

बाँकी रहेको काम भने चीनको झोङहेङ कन्स्ट्रक्सन ग्रुप बेइजिङले २ अर्ब ६१ करोड १० लाख ९२ हजारमा ठेक्का लिएर काम गरिरहेको छ । सरकारी कार्यालय भएको स्थान वरपरपनि सडक भत्किएको छ । जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, मधुमारा, तीन टोलीया, लगायतका क्षेत्रमा निर्माण भएका सडक, ढल र नाला दर्जनौं ठाउँमा भत्किएको छ ।

‘असुरक्षित बन्दै ६ लेन सडक’ शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ । जोगवनी किमाथाङ्का जोड्ने ६ लेन सडकमा पछिल्लो समय दुर्घटना बढ्न थालेको छ । ६ महिनामा सडकको नालामा डुबेर २ जनाको मृत्यु भएको छ । सडक छेउको नालालाई छोप्ने स्ल्याब नराख्दा पैदलयात्रीहरुको लागि धराप बनेको हो । यस्तै नालामा डुबेर धेरै जना घाइते भएको समाचारमा उल्लेख छ ।

तिब्बतले ९६ करोड सहयोग गर्ने घोषणा गरेको समाचार नागरिक पूर्वेलीमा छ । पूर्वाेत्तर नेपालबाट नेपाल चीन सीमाक्षेत्र टिपतला हुँदै नेपाली भूमि ओलाङचुङगोला जोड्ने सडकको लागि तिब्बतको रिउस्थित डिङ्जी काउन्टी सरकारले ९६ करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । दुई वर्ष अघि द्विपक्षीय कुटनीतिक पहलमा नेपाली स्थानीयबासीको पहलमा टिपतलबाट गोलासम्मको बाटो खन्न तिब्बती मेसिन र कामदार आएका थिए । ताप्लेजुङ जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले तिब्बतले गर्ने सहयोग बारे जानकारी दिएका हुन् ।

जनविद्रोह दैनिकमा जनप्रतिनिधिलाई नेकपाको निर्देशन हत्कडी लाग्ने काम नगर्नु शिर्षमा मुख्य समाचार छापेको छ । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानूनविपरीत कार्य नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । कानूनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्धा लाग्न सक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएको हो ।

Loading...