fbpx

रणबीर र आलियाको ‘ब्रह्मास्त्र’मा शाहरुखको इन्ट्री

विराटनगर, १७ कात्तिक । बलिउडका चर्चित अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘ब्रह्मास्त्र’को छायांकनमा ब्यस्त रहेका छन् । केही समयअगाडि फिल्मका निर्देशक आयान मुखर्जीले आलियाको स्वास्थ्य खराब भएपछि सुटिङ स्थगित गरेका थिए । अब भने निर्माण टिमले फिल्मको सुटिङ नोभेम्बरमा वाराणसी गएर पूरा गर्ने भएका छन् ।

फिल्मको छायांकन लगभग सकिने दिनहरूमा फिल्ममा अभिनेता शाहरुख खानको इन्ट्री भएको छ । फिल्ममा शाहरुखले केमियो भूमिका गर्न लागेको भारतीय मिडियाहरूमा उल्लेख गरिएको छ । फिल्ममा शाहरुखको भूमिका छोटो भएपनि विशेष रहेको हुँदा आफ्नो केमियो सुटिङका लागि उनले डिसेम्बरको समय दिएका छन् ।

रणवीर कपुरको यात्रालाई अगाडि लैजानका लागि फिल्ममा शाहरुखको भूमिका विशेष रहेको भारतीय मिडियाले जनाए । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा आलिया, रणबीर र शाहरुखका साथ बलिउडका सुपरस्टार अमिताभ बच्चन र नागार्जुनको मुख्य भूमिका रहेको छ ।

निर्माण टिमले फिल्मलाई २५ डिसेम्बरको लागि प्रदर्शन मिति तय गरेको थियो । तर, छायांकन नसकिने भएपछि र सलमान खानको ‘दबंग ३’ पनि डिसेम्बरमा नै रिलिज हुने भएपछि ‘ब्रह्मास्त्र’को रिलिज मिति सर्ने लगभग पक्का भएको छ ।

Loading...