fbpx

नाकामा स्थायी लेखा नम्बर लिएर तस्करी

विराटनगर, १७ कात्तिक । पछिल्लो समय मरिच तस्करी फस्टाएको छ । नेपालमा भन्दा भारतमा महंगो पर्ने मरिचको तस्करी फस्टाएको हो । तस्करको समूहले नाकामा स्थायी लेखा नम्बर लिएर खुलेका साना पसल प्रयोग गर्दै मरिच भारतसम्म पुर्‍याउँछन् ।

स्थायी लेखा नम्बर लिएर सीमाक्षेत्रमै पसल थापेर व्यापारीहरूले मरिचको कारोबार गरिरहेका छन् । मोरङ प्रहरीको दाबीअनुसार विराटगर बजारक्षेत्रबाट मासिक करिब १० हजार किलोसम्म मरिच बिक्रीका लागि भन्दै सीमावर्ती क्षेत्रका पसलहरूमा पुग्ने गरेको छ । सीमावर्ती क्षेत्रमा खुलेका पसलबाट मरिच सिधै भारततर्फ निकासी हुन्छ । नाकामा बसेको प्रहरी भने तस्करी नियन्त्रण गर्न असफल छ ।

प्रहरीको आफ्नै गुनासो

गत असार ४ गते विराटनगरबाट सीमावर्ती क्षेत्र बुधनगर लैजाँदै गरेको अवस्थामा ३० बोरा मरिचसहित प्रहरीले दुई वटा अटो नियन्त्रणमा लियो । सीमावर्ती क्षेत्र रानीबाट नियन्त्रणमा लिएको मरिच कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाए पनि कार्यालयले सप्लायर्सलाई नै फिर्ता दियो ।

२० दिन अनुसन्धानका लागि राखेको राजस्व कार्यालयले २१ असारमा खरिदकर्ता कञ्चन खरिद बिक्री केन्द्रलाई पत्र काटेर ३० बोरा (७५० केजी) मरिच फिर्ता लैजान भन्यो । कञ्चन खरिद बिक्री केन्द्र रहेको स्थानमा आसपास सानो बस्ती छ । बस्तीलाई १० केजी मरिचले एक वर्षसम्म पुग्छ । तर, साढे सात सय किलो मरिच किन लगियो ? प्रहरी भन्छ ‘भारतमा तस्करीका लागि’

सीमावर्ती क्षेत्रमा रहेको कञ्चन खरिद बिक्री केन्द्रले मात्र होइन सीमाक्षेत्रमा खुलेका अधिकांश पसललेको काम भारत मरिच तस्करी गर्ने भएको प्रहरीको दाबी छ । स्थायी लेखा नम्बर लिएर बिक्रीका लागि भन्दै सीमावर्ती क्षेत्र पुगेको मरिच प्रहरीको आँखा छल्दै भारत पुर्‍याउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन् । ‘हामीले समातेर बुझाँउछौं राजस्वले छाडिदिन्छ,’ श्रेष्ठ भन्छन्, ‘राजस्वबाट अनुमति लिएर तस्करीका लागि गोदाम खुलेका छन्, दायाँ बायाँ हेर्दा प्रहरी नदेखे पारी कटाइहाल्छन् ।’

सीमा नाकाबाट २० मिटरको दूरीसम्म गोदाम सञ्चालनको अनुमति पाएका छन् । ती क्षेत्र खुलेका गोदाममा राखेर मरिच भारत तस्करी हुने गरेको प्रहरीको दाबी छ । मोरङको ६३ किलोमिटर क्षेत्र भारतसँग सीमाना जोडिएको छ । सो क्षेत्रमा १ सय ६५ भन्दा बढी गोदाम रहेको प्रहरीको तथ्यांक छ । ती गोदामको प्रयोग हुँदै भारतबाट नेपाल र नेपालबाट भारतसम्म तस्करीका सामान पुग्छन् । भारतमा आयात गरिने तस्करीका सामान ती गोदाम हुँदै नेपाल प्रवेश हुने प्रहरी बताउँछ ।

सीमा नाका छेउमा खुलेका पसलहरूले पनि भ्याट बिलमार्फत बिक्रीका लागि बजारबाट लगेको मरिच भारतको पूर्णियसम्म पुर्‍याउँछन् । स्थानीय व्यापारीहरूका अनुसार मरिच भारतमा भन्दा नेपालमा सस्तो छ । तस्करी गरी भारतसम्म पुर्‍याउन सके खर्च कटाएर प्रतिकेजी भारु ४० रुपैयाँ मुनाफा हुन्छ । ‘नेपालमा सरदर बढीमा ३०० रुपैयाँ भारु प्रतिकेजी पर्छ’ ती ब्यापारीले भने, ‘पूर्णियासम्म पुर्‍याउन सके न्यूनतम ४० रुपैयाँ भारु मुनाफा हुन्छ ।’

तस्करीका लागि आयात

भारततर्फ तस्करी बढेपछि तेस्रो मुलुकबाट मरिच आयात पनि बढेको छ । भन्सार कार्यालय विराटनगरको तथ्याङकअनुसार पछिल्लो तीन वर्षमा आयात उच्च छ । आर्थिक वर्ष २०७५/७६ मा विराटनगर भन्सार कार्यालय हुँदै १ अर्ब २५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको ३० लाख ४७ हजार किलो मरिच आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ३० करोड ९२ लाख ८८ हजार बराबरको ३२ लाख ३० हजार २ सय ४८ केजी मरिच नेपाल भित्रिएको छ भने वि.सं २०७३/७४ मा ११ करोड २१ लाख ३३ हजार मूल्यबराबरको एक लाख ४८ हजार एकसय ८६ किलो मरिच आयात भएको छ । भारततर्फ मरिच तस्करीको लाइन २०७३/७४ मा खुलेपछि आयात एक्कासी बढेको व्यापारीहरू बताउँछन् ।

Loading...