fbpx

समाचार स्रोतवारे भानुभक्त्तको शिक्षा

समाचारमा स्रोतको सुरक्षा के कसरी गर्ने नगर्ने भन्नेवारे सञ्चार बिज्ञ भानुभक्त्त आचार्य समाजिक सञ्जाल फेसबुकमा यसरी जानकारी दिन्छन ,

एकजना पत्रकारको रिपोर्टमा भएका बेनामे स्रोतहरुको परिचय खोल्न सम्बन्धित पक्षले र्याखर्याख्ती पारेछन् । उहाँसँग सबै स्रोतको अडियो सुरक्षित छ रे । “अब म त्यो अडियो दिउँ कि के गरुँ?” भन्दै फोन गर्नु भो ।

मेरो जवाफ

पहिलो कुरा, आफूले लेखेको सही हो कि होइन भन्नेमा ध्यान दिनुहोस् । यदि सही समाचार लेखेको छ भने निम्न बुँदाहरु अवलम्बन गर्नुहोस् :

१. स्रोतको परिचय नखोल्ने सर्तमा सूचना लिइएको हो भने पत्रकारले स्रोतको सुरक्षा गर्नुपर्छ । समाचारको स्रोत माग्दैमा पत्रकार कसैलाई समाचारको स्रोत भन्न बाध्य हुँदैन । यो पत्रकारिता पेसाकर्मीहरुको विशेषाधिकार हो ।

२. यदि तपाइँले आज स्रोतको परिचय दिनुभयो भने तपाइँ अविश्वासी पत्रकार ठहरिनुहुन्छ र भोलि कसैले तपाइँको कुरा विश्वास गर्दैनन् र तपाइँलाई सूचना दिँदैनन् । तपाइँले पत्रकारिताको आधारभूत मापदण्डको उल्लंघन हुनेछ । तपाइँ पत्रकारिताका लागि अयोग्य व्यक्ति ठहरिनु हुनेछ ।

३. बरु, स्रोत माग्नेहरुलाई लिखित रुपमै आफूले स्रोतको परिचय दिन नसक्ने कारणहरु भन्न सक्नुहुन्छ । उनीहरुलाई स्रोतको परिचय नखोली समाचार बनाउने आफ्नो बचनबद्धता, र परिचय खुलाउँदा उनीहरुमा कस्तो जोखिम आइपर्छ भन्ने बारे सम्झाउन सक्नुहुन्छ । पत्रकारले स्रोतको सुरक्षा गर्नु पर्ने अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासका बारेमा उल्लेख गर्न सक्नुहुन्छ ।

४. कुनै कुनै देशमा कानुनतः राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा पत्रकारले अदालतमा गोप्य स्रोतका प्रमाणहरु पेस गर्नु पर्ने नियम हुन्छ । त्यस्तो अवस्थामा पत्रकारले सूचनादाताको सूरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

कतिपय देशमा स्रोतको सुरक्षाका लागि पत्रकारहरु बर्षौ जेल बसेका उदाहरणहरु पनि छन् । त्यसलाई मनन गर्नुहोस् । स्रोतको सुरक्षाका लागि आवश्यक परे जेल जान पनि मानसिक रुपमा तयार रहनुहोस् ।

५. कहिलेकाँही स्रोतलाई सोधेर, उसको अनुमतिमा पनि परिचय सार्वजनिक गर्न सकिन्छ । तर, यो निकै जोखिमपूर्ण हुनसक्छ । स्रोतले जानिबुझीकन अनुमति दिएको हो कि होइन भन्ने कुरा पत्रकारले थाहा पाउनुपर्छ ।

६. तर सम्झिनुहोस्ः स्रोत काल्पनिक भएको अवस्थामा वा समाचार कपोलकल्पित भएको अवस्थामा तपाइँलाई प्रेस स्वतन्त्रताको अधिकारको सुविधा हुनेछैन । त्यस्तो अवस्थामा तपाइँ पत्रकारिताका लागि योग्य व्यक्ति होइन ।

Loading...