fbpx

अन्तरदेशीय विवाह गर्ने विक्रमश्री र मारियाको नमुना परिवार

इटहरी (सुनसरी), १७ कात्तिक । चोखो माया जातभात र धनीगरिबको पर्खालसँग मात्र हैन धर्मसँग पनि पौँठेजोरी खेल्छ । माया कुनै जातजाती र देशको बन्धनमा मात्र सीमित रहन चाँहदैन । यसैले त भिन्न जात, भिन्न–भिन्न जाति र भिन्न देश र भिन्न–भिन्न धर्मका भएपनि माया गर्नेहरू आखिर एकमनले प्रणय सुत्रमा बाँधिएरै छाड्छन् ।

धेरै उदाहरणमध्ये एक जोडी हो सुनसरी इटहरीका कलाकार विक्रमश्री र मारियाको । विक्रमश्री (विक्रम तिम्सिना) नेपाली नागरिक हुन् भने मारिया (मारिमिक भिन्देनव) फिलिपिन्सकी नागरिक ।

विक्रम हिन्दूधर्म मान्ने परिवारका हुन् भने मारिया क्रिस्चियन धर्म मान्ने परिवारकी सदस्य । तर, फरक–फरक भुगोल धर्म र जातिका भएपनि उनीहरू छेकिन सकेनन् । नौ बर्ष भयो उनीहरूले अन्तरदेशीय विवाह गरेर राजखुशीले पति–पत्नी बनेर जीवन गुजारी रहेका मात्र छैनन् परिवारलाई नमुना पनि बनाएका छन् ।

सन् २०१२ मा कोरियाको सोलमा हो विक्रम र मारियाको विवाह भएको । त्योभन्दा अगाडि उनीहरूले एकअर्कालाई देखेका पनि थिएनन् । युनिभर्सल पिस फाउन्डेसन भन्ने संस्थाले आयोजना गरेको कार्यक्रममा विश्वका सबै मानव समान हौँ, नमुना विवाह गरेर विश्वलाई एउटा परिवार बनाऔँ भन्ने सन्देश दिन अन्य जोडीसँगै विक्रम र मारियाले पनि विवाह गरे ।

उनीहरूको विवाहको प्रस्तावक बनेका थिए, नेपालका नेता उपेन्द्र यादव । विश्वलाई एउटै परिवारमा जोड्ने उद्देश्यले नमुना विवाह गराउन सन् २०१० मा विश्वभरका युवायुवतीको वायोडाटा मागिएको थियो । त्योबेला प्राकृतिक चिकित्सक फिलिपिन्सकी नागरिक मारिया र नेपालका मूर्तिकार विक्रमश्रीले पनि फारम भरेका थिए । विश्वभरका सयौँ जोडीमध्ये त्यो बेला १२ जोडी मात्र छानिएका थिए ।

आफ्नै देशको नागरिकहरूमा उँचनिचको विभेद गर्ने नेपाली समाजमा जब विक्रमश्रीले अन्तरजातीय र अन्तर्धार्मिक मात्र नभएर अन्तरदेशीय विवाह गरेर मारियालाई नेपाल ल्याए तब सबै तीनछक्क परे । धेरैले जिब्रो टोके । धेरैलाई लाग्यो यो केही दिनका लागि मात्र हो ।

तर, नेपाली भाषा, संस्कृृति पटक्कै नबुझेकी मारियाले आफ्नो तनमन सबै पति विक्रमश्री र परिवारका लागि लगाइन् । आफू फिलिपिनो हुँ भन्ने चटक्कै बिर्सिइन् । अहिले उनी सबैका लागि उदाहरणीय बनेकी छन् ।

सुरुमा नेपालमा केही नभेटेर विदेशी बिहे गरेको भनेर विक्रमलाई गाली गर्नेहरू पनि प्रशंसा गर्न थालेका छन् । मारिया विक्रमश्रीको परिवारमा उदाहरणीय गृहणी बनेकी छन् ।

कोरियाको सोलमा पहिलो पटक भेट भएको हो मारिया र बिक्रमको । दुबैले देख्नासाथ एकअर्कालाई मन पराए । अनि बायोडाटा जुधाए । चित्त बुझ्यो । त्यसपछि स्वीकृति दिए । एसियाका १२ जोडीसँगै उनीहरूको पनि औपचारिक समारोहमा विवाह भयो । प्रमाणपत्रसहित । मारिया भन्छिन्, ‘हामीलाई गडले नै एक हुन बनाएको रहेछ ।’

फिलिपिनो नागरिक माइती भएकी मारिया, प्राकृतिक चिकित्सक हुन् । विक्रमश्री मूर्तिकलाकार । माइतमा जे धर्मकर्म गरेको भएपनि आजकल मारिया घरसमाजको सबै पूजाआजामा सरिक हुन्छिन् र नित्य मठमन्दिर जाने र ब्रत बस्ने गर्छिन् ।

उनलाई केही महिना असजिलो भएपनि अहिले समाजमा घुलमिल हुन कुनै अप्ठेरो छैन । उनी समाजका महिलाहरूसँग मिलेर सामाजिक काममा पनि सरिक हुने गरेकी छन् ।

विक्रमले इटहरीमा भव्य काव्यबाटिका निर्माण गरेका छन् । त्यसलाई काव्य महाविद्यालय बनाउने उनको योजनामा उनी सक्रिय छन् । यसैगरी देशका विभिन्न स्थानका पर्यटकीय क्षेत्रहरूको डीपीआर बनाउन पनि विक्रम सक्रिय छन ।

उनले भोजपुर, संखुवासभाका प्रमुख पर्यटकीय गन्तव्य मात्र नभएर मोरङको केराबारीमा बन्न लागेको प्रदेशस्तरीय बालउद्यानको पनि डीपीआर सकेका छन् । विक्रमको काममा साथ दिन उनकी पत्नी मारिया पनि उत्तिकै खटिरहेकी छन् । र, विक्रम र मारियालाई विक्रमश्रीको सपरिवारले साथ दिइरहेको छ, सँगै बसेर ।

विश्व मानव जातिको एउटा परिवार हो । मानव–मानवमा कुनै विभेद हुनुहुँदैन । जाति–जातिबीचको बिद्धेष अन्त हुनुपर्छ अनि मात्र द्वन्द्व अन्त भएर विश्वमा मानवीय सौहार्दता बढन सक्छ भन्ने विश्वास अन्तरदेशीय विवाह गर्ने जोडी विक्रम र मारियाको छ । उनीहरू प्रेमलाई रूपले हैन मनको सौन्र्दयले अगाल्नुपर्नेमा जोड दिन्छन् ।

Loading...