fbpx

नेकपाले उम्मेदवारको टुंगो भोलि लगाउने

काठमाडौं, कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुंगो लगाउने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबार फेरि बैठक बसेर उम्मेदवारको टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज बिहान ११ बजे बसेको बैठकपछि बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार चयनका बारेमा छलफल प्रारम्भ भएको छ । क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला समिति र प्रदेश कमिटिबाट आएका सिफारिसहरुको अध्ययन गरेका छौँ ।’

उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफलमात्रै भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराए । बैठकमा उनले आफ्नो स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना नभएको बताएका थिए ।

Loading...