fbpx

तेलेगु फिल्म ‘जर्सी’को हिन्दी रिमेकका लागि शाहिद कपूरले सुरु गरे ‘क्रिकेट कोचिङ’

विराटनगर, १६ कात्तिक । बलिउडका चर्चित अभिनेता शाहिद कपूर तेलेगु फिल्म ‘जर्सी’को हिन्दी रिमेकको तयारीमा जुटेका छन् । साउथ फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबीर सिंह’मा गरेको अभिनयले दर्शकहरूको मात्र नभएर धेरै निर्देशक तथा निर्माताहरुको पनि मन जित्न सफल शाहिद आगामी फिल्म ‘जर्सी’का लागि तयारीमा जुटेका हुन् ।

aa

शाहिदले यस फिल्ममा आफ्नो भूमिकालाई न्याय दिनका लागि क्रिकेट कोचिङ सुरु गरेका छन् । उनी यस फिल्ममा एक क्रिकेटरको भूमिकामा देखिने भएका छन् । शाहिदले ट्वीटरमा एक पोस्ट गर्दै भनेका छन्, ‘कबीर सिंहपछि मलाई यो सोचले डुबायो कि अब मलाई के गर्नुपर्छ ? तर, मैले जब जर्सी देखेँ, त्यतिबेलै बुझेँ कि जर्सी नै मेरो आगामी फिल्म हो । यो एक शानदार प्रेरक फिल्म हो र एक यस्ता मानिसको कथा हो जो मसँग मेल खान्छ ।’

खबरका अनुसार यो फिल्मको छायांकन आगामी महिना चण्डिगढबाट सुरु हुनेछ । तेलेगु फिल्म ‘जर्सी’मा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका रहेको थियो र सिनेमाले तेलेगु वक्सअफिसमा ७५ करोड भारू कमाउन सफल भएको थियो । उक्त फिल्ममा एउटा क्रिकेटरको जीवनमा आधारित भएको कथालाई प्रस्तुत गरिएको छ । फिल्मका लागि शाहिदले ४० करोड भारू मागेको खबरसमेत सार्वजनिक भएको छ ।

फिल्मको हिन्दी रिमेकका लागि शाहिदलाई उक्त भूमिकामा निकै सुहाउने भएकोले अफर गरिएको फिल्मका निर्देशक गोतम तिन्नाउरीले बताएका छन् । फिल्मलाई २०२०को अगस्त २८ मा रिलिज गरिने लक्ष्यका साथ फिल्मको धमाधम काम सुरु भइरहेको छ ।

Loading...