fbpx

नगरबासीको शान्ति र समृद्धिका लागि भन्दै छठमा यो वर्ष पनि घस्रिए विराटनगरका मेयर भीम पराजुली

१६ औं पटक साष्टांग दण्डप्रणाम गर्दै संघिया घाटसम्मको यात्रा सुरु

विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि छठमा ब्रत बसेर साष्टांग दण्डप्रणाम गर्दै घाटको यात्रा सुरु गरेका छन् ।

विधिअनुसार छठमा निराहार ब्रत बसेका प्रमुख पराजुलीले हरेक वर्षझैँ यो वर्ष पनि साष्टांग दण्डप्रणाम गर्दै अढाइ किलोमिटरको दूरीमा रहेको सिंघिया घाटसम्मको यात्रा सुरु गरेका हुन् । आज शनिबार बिहान १०:३० बजे विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पञ्चायन मन्दिरबाट पराजुलीले सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।  उनीसँग पत्नी रञ्जिता पराजुली र भतिजा प्रमेश पराजुलीले दण्डप्रणाम गर्दै घाटको यात्रा सुरु गरेका छन् ।

साष्टांग दण्डवत गर्दै उनले करिब अढाइ किलोमिटर दुरी चार घण्टामा पार गर्नेछन् । २६ वर्षदेखि छठमा ब्रत बस्दै आएका पराजुलीले साष्टांग दण्डवत गरेर घस्रँदै घाटसम्म पुगेको यो १६ औं पटक हो । पहिले परिवारको सुखशान्तिका लागि छठमा ब्रत बस्दै आएका पराजुली विराटनगरको प्रमुखमा निर्वाचित भएपछि महानगरबासीको शान्ति र समृद्धिका लागि कठाेर ब्रत बस्दै आएका छन् ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठको ब्रत बसेर साष्टांग दण्डवत गर्दै घाटसम्म पुगेको योसहित तेस्रो पटक भएको प्रमुख पराजुलीले बताए । उनले आफूले सकेसम्म निरन्तर ब्रत बसेर दण्डवत यात्रा गरिरहने बताए । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा नै जागराम बसी आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गर्नेछन् ।

तस्बिर : सुरेन्द्र मल्ल/ यज्ञ अधिकारी

Loading...