fbpx

नो सेभ नोभेम्बरमा यसरी गर्नुहोस् दाह्री तथा अनुहारको हेरचाह

विराटनगर १६ कात्तिक ।नोभेम्बर महिना लागेसंगै नो सेभ नोभेम्बर’ अभियान विश्वभरी शुरु भएको छ । के तपाईं यसमा भाग लिने सोच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने, यस महिनामा छाला र दाह्रीको ख्याल राख्नका लागि यहाँ केही सुझावहरू छन् ।

यस भन्दा अगाडि नो सेभ नोभेम्बर कस्तो अभियान हो भन्ने जिज्ञासा सबैमा हुन सक्छ । नो सेभ नोभेम्बर एउटा पहल वा अभियान हो जहाँ कपाललाई अँगालेर क्यान्सर सम्बन्धि जागरूकता बढाइनुका साथै क्यान्सर पिडितहरुलाई हौसला र समर्थन गरिन्छ । धेरै क्यान्सर पिडितहरुले आफ्नो कपाल वा दाह्री गुमाउछन् । यो महिनाभरि दाह्री वा कपाल नकाटेर क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम र दाह्री वा कपाल काट्ने पैसाले क्यान्सर पिडितहरुको बचाउ तथा क्यान्सर रोकथामको विभिन्न अभियानमा सहयोग गरिन्छ ।

यस महिनाको शुरुको दिन दाह्री जुँगा सफाचैट गरेदेखि अन्तिम दिन सम्म कुनै पनि प्रकारले दारी जुँगा काटिदैन् । तर आवश्यकता अनुसार यसलाई मिलाएर हल्का काटेर राख्न पनि सकिन्छ । अवश्य पनि क्यान्सर सम्बन्धि शिक्षा, रोकथाम, र अनुसन्धान को लागी समर्थन गर्न आफुले सकेको आर्थिक सहायोग गर्नु पर्ने हुन्छ । यस अभियान संचालन गरेर विभिन्न संस्थाहरुले आर्थिक सहयोग संकलन गरि रहेका हुन्छन । त्यस्ता संस्थाहरु मार्फत पनि यस अभियानको लागि सहयोग गर्न सकिन्छ । नेपालमा दाह्री ग्याङ्गले वर्षौदेखि नो सेभ नोभेम्बर अभियान मार्फत क्यान्सर पिडितहरुको लागि सहयोग गरि रहेको छ ।

यस अभियानमा सहभागी हुनको लागि आफ्नो दाह्री तथा छाला हेरचाह पनि महत्वपुर्ण विषय हो । धेरै मानिसहरू विश्वास गर्छन् कि दाह्रीलाई दैनिक हेरचाह चाहिदैन् । तर सत्य यो हो कि तपाईको दाह्रीको राम्रोसँग हेरचाह गर्न असफल हुनाले तपाइँको छालालाई हानी र्पुयाउन सक्छ । त्यसैले दाह्रीको हेरचाहसंग छाला पनि सम्बन्धित छ । तपाईंले अनुहार धुन क्लीन्जर दैनिक दुई पटक र पसिना आए पछि पनि प्रयोग गर्नुपर्नेछ । जब तपाईं पर्याप्त सफा गर्नुहुन्न, फोहोर, पसिना, र व्याक्टेरिया पनि तपाईंको अनुहारमा जम्मा हुन सक्दछ जसले गर्दा दाह्री टुक्रिने तथा झर्ने समस्या आउन सक्दछ । साबुन तथा स्क्रबको प्रयोग गर्दा छाला तथा दाह्री सुक्खा हुनुका साथै दाह्री टुक्रिने समस्या हुन सक्छ ।

तपाइँको अनुहार पुछ्ने तौलिया नियमित रूपमा परिवर्तन गर्नुहोस् । फोहोर तौलियाको प्रयोगले कीटाणुहरू सर्ने गर्दछ । यसले तपाईंको छालामा नयाँ कीटाणुहरू पनि ल्याउन सक्छ जसले गर्दा विभिन्न छालाको समस्या उत्पन्न गर्दछ । अनुहारको क्लिनजिङ्गजस्तै अनुहारको मोइस्चराइजिङ्गलाई पनि दैनिकी बनाउनु पर्छ । दैनिक मोइस्चराइजिङ्ग गर्नाले अनुहारको छालालाई सुदृढ बनाउनुका साथै जलन हुने समस्याबाट बचाउछ । मोइस्चराइजिङ्ग जाडो महिनाको लागि एक महत्वपुर्ण आवश्यकता हो ।

दाह्रीको मोइस्चराइजिङ्ग पनि एक महत्वपुर्ण चरण हो । यसले दाह्रीमुनिको छालालाई ओशिलो र स्वस्थ राख्न मात्र मद्धत गर्दैन्, दाह्रिलाई पनि नरम र स्वस्थ राख्न सहयोग पुर्याउदछ ।  तपाईको कपाललाई नियमित रूपमा छाँटकाँट गर्नाले कपाल बलियो र बढ्न मद्दत गर्दछ । दाह्रीलाई छाँटकाँट गर्नु राम्रो अभ्यास हो ।

यदि तपाईं दाह्री अधिक लामो बनाउने कोशिस गर्दै हुनुहुन्छ भने पनि तपाईंको दाही्रलाई आकार दिन ट्रिम गर्नु राम्रो हुन्छ । कपाललाई हेरविचार गरेजस्तै दाह्रीलाई पनि स्याहारसुसार गर्नुहोस् । त्यसैले दाह्रीलाई पनि नियमित रुपमा मन तातो पानीले मोइस्चराइजिङ्ग स्याम्पुको प्रयोग गरेर धुने गर्नुहोस । दाह्री या जुँगा हातले छोई राख्ने बानिले हातमा भएका किटाणुहरु अनुहारमा सर्ने गर्दछ, यस्तो बानी दाह्री या अनुहारको लागि हानिकारक हो ।

यस बाहेक यदी तपाइको दाह्री चिलाउने गर्दछ भने तपाइको अनुहार तथा दाह्रीको लागि मोइस्चराजिङ्गको आवश्यक परेको चिन्ह हो । जसरी तपाईं आफ्नो कपाल स्टाइल गर्नुहुन्छ, तपाईं आफ्नो दाह्रीलाई राम्रो देखिन विभिन्न स्टाइल गर्न सक्नुहुनेछ । अन्त्यमा नोभेम्बर सकिए पश्चात वा कुनै पनि बेला दाह्री पुर्ण रुपमा खौरिने सोच गर्नु भयो भने अनुहारलाइ स्वस्थ राख्न दाह्री खौरिए पछि आफ्टर सेभको प्रयोग गर्न सक्नु हुन्छ ।

डा. तपन प्रधान
( डर्माटोलोजिस्ट, ट्राइकोलोजिस्ट )
भेनस स्किन एण्ड हेयर ट्रान्सप्लाण्ट क्लिनिक, विराटनगर

Loading...