fbpx

छठ पर्वमा समाजवादको झल्काे

प्रविणनारायण चौधरी, मैथिली संस्कृति विद

मिथिला संस्कारमा सूर्यको उपासना विभिन्न रुपमा हुन्छ । छठ पर्व पनि सूर्य उपासनाकै एउटा विशिष्ट रुप हो । छठमा सूर्यको आरधना अतिविशिष्ट रुपमा गरिन्छ । विभिन्न पूराणमा नारदमुनीले सूर्यलाई दिएको श्राप निराकरण पश्चात सूर्यले केही बेला स्त्रीको शक्ति स्वरुप ग्रहण गरेको विषय वर्णन गरिएको छ । त्यही स्वरुपलाई छठी माता भनिन्छ ।

कात्तिक शूक्लपक्षको षष्टी तिथिमा सूर्य अस्त हुनु अघि र अर्काे दिन बिहान सूर्य उदयको केही समय पछिसम्म सूर्य नै छठी परमेश्वर हुनुहुन्छ र उहाँलाई अति विशिष्ट शक्ति वरदानीको रुपमा बुझ्ने गरिन्छ ।

मिथिलाबासीले विश्वास गरेको विषय के हो भने, भगवान् रामले रावणले हरण गरी लगेकी सीतालाई लंकाबाट अपहरण मुक्त गरी अयोध्या फर्किएर दिपावली गरि सीताले ब्रत राखेर छठी माताको पूजा गरेपछि पर्व मनाउन सुरु गरिएको हो ।

छठ पर्वकै चर्चा गर्दा राजा प्रियव्रत र महारानीका पुत्र थिएनन् । पुत्र प्राप्तिका लागि योग गर्दा मृत अवस्था जन्मियो । मृत पुत्र जन्मिएपछि राजारानी दुखी भएको अवस्थामा देवी प्रकट भई राजालाई व्रतको विधान वर्णन गरी व्रत बस्न लगाएको विश्वासका आधारमा पुत्र दायनी माताको रुपमा वर्णन गरिएको छ ।

सन्तान उत्पतिको रहस्य पनि छठ पर्वसँग जोडिएको छ । सन्तानको सुख, परिवार र पतिको सुख, राष्ट्रको सुखलगायत विषयमा छठ पर्वको आध्यात्मिक महत्व छ ।

विकृतिको विभिन्न स्वरुप

छठ पर्वको बिस्तारसँगै विकृति पनि भित्रिएका छन् । विकृतिको विभिन्न स्वरुपहरु छन् । तर यसको आध्यात्मिक महत्व धेरै बलियो छ । त्यसैले विकृतिको चर्चा नगर्दा हुन्छ । मिथिलाबाट सुरु भएको पर्व विश्वव्यापी भएको छ । अष्ट्रेलिया, अमेरिकालगायत सबै देशमा यो पर्व मनाउन थालिएको छ ।

समाजवादको झल्को

छठ पर्वमा समाजवादको स्वरुप हेर्न सकिन्छ । यसमा कुनै सामाजिक भेदभाव छैन् । तल्लो जात माथ्लो जात भन्ने छैन् । मुस्लिम समुदाय पनि त्यती नै आस्था राखेर छठ पर्व मनाउँछन् । नेपालमा बेला बेला मधेसी पहाडीको विभेदको आवाज उठ्छ । तर यो पर्व मनाउँदा हेर्नुहोस्– पूजा गर्न सबै समुदाय मिलेर बसेका हुन्छन् । यसमा समाजवाद भित्रको समानताको सिद्धान्तलाई बलियो रुपमा अघि सारेको छ । आध्यात्मिकसँगै सामाजिक समानताको सिद्धान्त छठ पर्वले परिभाषित गर्छ ।

तर छठ पर्वमा एक दिन नदी नाला सफा गर्ने अरु दिन ध्यान नदिने चलन छ । जुन जलस्रोतमा एक दिन पूजा गर्छाै तर ३६४ दिन कुनै चासो राख्दैनौं । जलस्रोतको आध्यात्मिक महत्व भएपनि मूल मर्मलाई सधैभरी आत्मसाथ गर्न सकेका छैनौं । यो विकृति हो ।

फेरि छठ पर्वमा प्रदुषण पनि छ । डिजे साउण्डले विकृति ल्याएको छ । मौलिक संस्कृतिका गीत प्रस्तुत नगरेर ठूलो आवाजमा जथाभावी मर्मसँग नजोडिएका गीत बजाउँदा विकृति बढ्छ । मैथिली भाषा यस्तो विकृति छैन् । तर अन्य भाषाका गीतहरुमा विकृति छ । गीतका बोली र अर्थ के हो भन्ने मैले पनि बुझ्न सकेको छैन् ।

मोरङसँग राजा शलहेसको सम्बन्ध

छठ पर्व वैदिक कालदेखि नै मनाउने परम्परा छ । राम सीतासँग जोडेर हेर्दा त्रेता युगदेखि विकास भएको मान्न सकिन्छ । विभिन्न वेदले वर्णन गरेको विषयलाई मिथिलाबासीले जीवनमा अपनाएका छन् ।

मिथिलाको इतिहासमा वर्णन गरिए अनुसार मिथिलासँग मोरङका थुप्रै राजाहरुको इतिहास जोडिएको छ । जसमा सिराहाका राजा शलहेसको ससुराली मोरङमा रहेको पाइन्छ । राजा सलेसको कालकण्डदेखि नै यहाँ छठ मनाउन थालिएको विश्वास छ ।

छठमा प्रत्यक्ष चमत्कार छ

छठको पूजामा प्रत्यक्ष चमत्कार छ । जादुगरको जादुबाट चाडै प्रभावित भएजस्तै यो पर्वको महत्व गहिरो छ । यसको गहिरो महत्वका कारण विस्तार तिव्र रुपमा भइरहेको छ ।

हिजो मिथिलाबासीले मनाउने पर्व अहिले सबै समुदायले मनाउने गर्छन् । यसको आध्यात्मिक महत्व र व्यावहारिक महत्व ठूलो छ । सबैले विभेद नगरी पूजा गर्ने गरेका कारण यसको स्वीकार्यता अन्य धर्म संस्कृतिमा पनि छिटो गतिमा भइरहेको छ ।

कोशी अनलाइनले चौधरीसँग गरेको कुराकानीमा आधारित

Loading...