fbpx

पत्रपत्रिकामा देश : निर्यात बढ्यो , व्यापार घाटा घट्दै

विराटनगर १६ कात्तिक । यो आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएको समाचार कान्तिपुर दैनिकले मुख्यपृष्ठमा छापेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो वर्ष आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्याापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ भने चीनसँग आयात बढेको निर्यात घटेको छ । गत वर्षको तुलनामा केही सकरात्मक संकेत देखिएको हो । अर्थ मन्त्रालयका अनुसार तीन महिनामा राजश्व संकलन २ खर्ब रुपैयाँ मात्रै भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारको लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी शिर्षकमा नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेदाृ निवासमै विशेष उपचार सुविधा आवश्यक रहेको सुझाब दिएका छन् । निवासमै मेडिकल रुम बनाउने सुझाब दिएको प्रधानमन्त्रीको उपचारमा संलग्न भएका एक चिकित्सकले बताएको नयाँ पत्रिकाको समाचारमा छ ।

सोही समाचारमा बालुवाटारमै डायलासिस गर्ने भन्ने सत्य नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालको भनाई छापेको छ । यस्तै उनले मेडिकल रुम बनाउने थाहा नभएको प्रतिकृया दिएका छन् ।

कान्तिपुर दैनिकमा भेटघाट रोकेर आराम शिर्षकमा समाचार छापेको छ । यस्तै नागरिक दैनिकमा प्रधानमन्त्री चिकित्सकको निगरानीमा शिर्षकमा मुख्यपृष्ठमा समाचार छापेको छ । चिकित्सकहरुको सल्लाहमा शुक्रबार दिनभर प्रधानमन्त्री ओलीले आराम गरेको नागरिकमा खबर छ । चिकित्सकहरुले धेरै आरामको जरुरी रहेको भन्दै भेटघाट र बैठक रोकेर आराम गर्न सुझाब दिएका हुन् ।

राजपुर बम विस्फोटमा प्रहरीको अनुसन्धान सकिएको र घटनाका आरोपित कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद महम्मद अफताव आलमलाई जन्मकैदको सजाय दाबी गरिएको समाचार नागरिक दैनिकले छापेको छ । पूर्वमन्त्री समेत रहेका आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाएर जन्मकैदको सजायमाग दाबी गरिएको हो ।

Loading...