fbpx

माथिल्लो त्रिशूली जलविद्युत आयोजनको लागि लगानी सम्झौता

काठमाडौं १५ कात्तिक । १ सय २६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका लागि लगानी गर्ने विषयमा सम्झौता भएको छ ।

निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन गर्ने गरिको सम्झौता शुक्रबार भएको हो ।

कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका लागि आवश्यक लगानीसम्बन्धी सम्झौता भएको छ । काठमाण्डौमा कम्पनी र लगानीकर्ता अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरुबीच जलविद्युत आयोजनाका लागि ४५ करोड ३२ लाख अमेरिकी डलर (झण्डै ५१ अर्ब ३१ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता भएको हो ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी भएको सम्झौता कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाएको बताए ।

आयोजनाको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख अमेरिकी डलर, एसियाली विकास बैंकले ६ करोड डलर, एसियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख अमेरिकी डलर, कोरियन आयात बैंकले १० करोड अमेरिकी डलर, कोरिया डेभलप्मेन्ट बैंकले ३ करोड अमेरिकी डलर त्यस आयोजनामा ऋण दिने छन् ।

Loading...