fbpx

चितवन मेडिकल कलेजले तोकेभन्दा बढी असुलेको रकम समायोजन गर्ने

चितवन १५ कात्तिक । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रमा तोकेभन्दा बढी असुलेको रकम समायोजन गर्ने जनाएको छ । गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी असुलेको शुल्क समायोजन गर्ने भएको हो । कलेजले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले शुल्क समायोजन वा फिर्ता गर्ने विषयमा गठन गरेको समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आगामी शुल्कमा समायोजन गरिने जनाकारी दिए ।

उनका अनुसार एमबीबीएसमा एक विद्यार्थीसँग छ लाख र बिडीएसमा एक लाख २५ हजार रुपैयाँ बढी लिइएको छ। त्रिवि रजिष्ट्रेसन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिने उनको भनाई छ । गत वर्ष आइओएमले एमबीबीएसमा ४२ लाख ४५ हजार र बिडीएसमा १९ लाख ३२ हजार रुपैयाँ तोकेको थियो।

कलेजले एमबीबीएसमा ६० लाख रुपैयाँसम्म असुल गरेको विद्यार्थीको आरोप छ। प्रशासनको रोहवरमा कलेजका तर्फबाट गर्नुपर्ने भनी गरिएका सबै सम्झौता कार्यान्वयन गर्न तयार भए पनि विद्यार्थीका तर्फबाट गर्नुपर्ने काम हुन नसकेको बताए।

उनले आगामी भर्नाका विषयमा कलेजहरुको साझा संस्था एशोसिएसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालको निर्णयअनुसार गरिने बताए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विद्यार्थीलाई पूर्ववतरूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरिएको छ।

Loading...