fbpx

फोहोर सफा गर्ने महावीर मरिकको अनुभूति, ‘हामी त गरिबीको स्कूल हो नि’

महावीर मरिक (७०) विराटनगर–१५ स्थित मरिक बस्तीमा बस्छन् । सरदर औषत आयु ४५ देखि ५० भएको यो समुदायमा सबैभन्दा धेरै समय बाँचिरहेका उनै हुन् । पहिले विराटनगर नगरपालिकाका सफाइ मजदूर रहेका महावीर अहिले आफ्नो रिटायर्ड जीवन ‘स्लम बस्ती’ मै बसेर बिताउँदैछन् ।

छोराहरूले ल्याइदिएको बाँसका सामग्री बनाएर दिन बिताउनु उनको दिनचर्या हो । मरिक भए पनि रक्सीको भोगी नभएका महावीरलाई सबैले बस्तीमा आदर पनि गर्छन् । तर, आफ्नो समुदायका कनिष्ठहरूले आदर गरेपनि कथित ठूलाहरूबाट चाँहि सम्मान पाउन सकेका छैनन्, उनले । जीवनभरि अरुलाई रोगबाट बचाउन उनले नगरमा साँझ, बिहान, जाडो, गर्मी नभनी नगर सफा गरिरहे । तर, उनी र उनको समुदायले लगाएको त्यो गुन कतै बस्दै आएको बस्ती हटाएर पो तिर्ने हुन कि भन्ने पनि पीर छ उनलाई । कोशी अनलाइनले उनका भोगाइ र समुदायको चिन्ताबारे गरेको कुराकानी यस्तो छ….

j

 

३५ रुपैयाँमा फोहोर उठाउँथेँ

हामीले (मैले) फोहोर उठाउन थालेको त उहिल्यैबाट (पहिलेदेखि नै) हो । हामीले काम गर्दा कहाँ थियो मोटर नगरपालिकामा । हामी त गोरुगाडामा फोहोर उठाउँथ्यो (उठाउँथ्यौँ ) । ए, ट्र्याक्टर त धेरैपछि आएको हो । अँ, ट्र्याक्टर आएपछि धेरै छिटो भयो फोहोर उठाउन । गोरुगाडामा (टायरगाडा) धेरै ढिलो हुन्थ्यो । सायद २५ सालतिर होला ट्र्याक्टर आएको । पहिले अहिलेको जस्तो फोहोर कहाँ हुन्थ्यो र ? प्लास्टिक पनि यति धेरै थिएन । मान्छेको बस्ती पनि पातलो थियो । ए, अहिले त जता पनि मान्छे नै मान्छे छ । कहिलेदेखि म नगरपालका (नगरपालिका) मा काम गर्न थालेँ त्यो साल त याद छैन तर त्योबेला नगरपालिका भर्खर बनेको थियो । अमरबाबु प्रधान भन्ने प्रधानपञ्च थियो नि, हो उसैले हो नगरपालका बनाएको । हामी त्यै बेलादेखि काम गर्न थालेको हो । ५५ वर्ष काम गरे नि मैले । पहिले हामी महिनाको ३५ रुपैयाँमा फोहोर उठाउँथ्यौँ । रिटायर्ड हुनेबेलामा ३ हजार थियो दरमाह (मासिक तलब) । जागिर छाड्दा ५५ हजार पेन्सन लिएको थिएँ । अरु त केही पाएको छैन ।

अहिले बाँसको काम गर्छु

के गर्ने जीनगी (जिन्दगी) गरिब छ हामीहरूको । काम नगरी कसले खिलाउँछ (खुवाउँछ) ? नगरपालिकाबाट रिटायर्ड भैहालेँ १० वर्ष भयो । ४ छोरा र २ छोरी छ । अनि पत्नी उमादेवी पनि छ । अब छोरीहरूको बिहे भैहाल्यो । छोराहरूको बालबच्चा छ । यसैले घरमै बसेर बाँसको अलिअलि कुनियाँ (एक प्रकारको डालो) र ढाकीहरू बनाउँछु । अलि अलि पैसा आउँछ । सधैँ बिक्दैनन् नि । पैकारीहरूले बजारमा खै कता–कताबाट धेरै ल्याएर राखेको हुन्छ । हामीले बनाएको मजबुत हुन्छ भनेर बुझ्नेले त लिने हो नि । म त बाँचेको छु र बाँसको काम गर्छु । हामी पहिले नगरपालिकामा काम गर्ने १० जना थियौँ । अरु त मेरो पालाको सबै मरिसक्यो ।

हाम्रो हालत उस्तै छ

हामी पहिले बजारको गुद्री बजार छ नि, हो त्यहीँ बस्थ्यो (बस्थ्यौँ) नि । अझै पनि डुमटोली भन्छ त्यो ठाउँलाई । पछि बजार साघुँरो भयो भनेर हामीलाई यहाँ सारेको हो । त्यो प्रधानपञ्च थियो नि रामकृष्ण भट्टराई, हो उसैले सारेको हामीलाई ऊ त्यो दुई वटा घर पनि बनाइदिएको थियो (दुई वटा लामा–लामा टिनका घर देखाउँदै) । त्यो बेला हामीहरूको जन (संख्या) थोरै थियो । घरमा २५ परिवार बस्थ्यो । तर, अहिले त दुई तीन सय परिवार भैसकेको छ । बस्ती एकदम साघुँरो भएको छ । ट्वाइलेट पनि छैन । खानेपानीको धारा पनि छैन । एउटा कल छ धमिलो पानी आउँछ । सबैले फोहोर फाल्छ नि त्यो पोखरीमा (उनीहरूको बस्ती दुई वटा ठूला पोखरीको डिलमा छ) यसैले गन्दा (गन्हाउने) पानी खानुपर्छ । के गर्नु नखाएर । वर्षात् (वर्षायाम) मा बस्तीमा पानी भरिन्छ । सबै डुब्छ । अब के गर्ने कहाँ जाने । बस्छ नि जसोतसो ।

lo

केटाकेटारू अलिअलि पढ्छ । ख्वै पढ्नै मान्दैन उनीहरू । फेरि काम पनि त गर्नुपर्छ नि । के खाने त ? पहिले नगरपालिकाले तलब दिन्थ्यो । तर, अहिले त त्यो बिएमसी (फोहोर संकलन गर्ने पुरानो साभेदारी संस्थाको नाम हो बिएमसी, तर अहिले त्यो संस्था छैन अरु नै संस्थाले फोहोर संकलन र व्यवस्थापन गर्ने जिम्मा पाएका छन्) ले त झन् थोरै पैसा दिएको छ हाम्रो मान्छेहरूलाई । अस्पतालहरूमा पनि दिनको डेढसय मात्र पाउँछ । दिनभरि सफाइको काम गर्नुपर्छ । के गर्ने काम त गर्नुपर्यो नि । कति कठिन छ सफाइको काम । तर, ठूलो मान्छेहरूले बुझ्दैन । के गर्ने । तल रानीको अनि रंगेलीको, कटहरीको सबैतिर बस्ने हाम्रो मान्छेको हालत उस्तै छ । सबै गरिब छ हाम्रो जस्तै (हामी जस्तै) ।

हे ! को दिन्छ हौ गरिबलाई

गरिबलाई कसैले दिँदैन । यसैले हामी त आश पनि गर्दैन । नरपालिकाले पनि तलब दिनुपर्छ भनेर सबैलाई हटायो । अहिले काम गरेको ज्याला पनि राम्रो पाउँदैन । हामी गरिब छ नि त्यसैले सबैले हेप्छ (हेपेको) । पढाइलेखाइ नभएपछि के गर्ने त अरु काम गर्न पनि कोइ जान्दैन । सुन्दैछु हामीलाई यहाँबाट पनि हटाउँछ रे । पहिले सारेको ठाउँमा ठूलो भवन बनाउँछ रे नगरपालिकाले । अनि यहाँ त्यो गुद्री बजार त्याउने रे । ख्वै हाम्रो आफ्नो जमिन छैन । सबै नगरपालिकाको हो । अब हामीलाई कहाँ लान्छ को नि ? यसैले होला बेलाबेला लाईन पनि काटिदिन्छ हाम्रो बस्तीमा । हामीले पैसा तिरेन भन्दै ।

हामी नभए सबै मरिसक्थ्यो

हामी नभए त यो विराटनगरको मान्छे सबै मरिसक्ने थियो । हामी हेर्नु त कति धेरै कुहिएको फोहोर सफा गर्छौं । रक्सी नखाएर त फोहोर उठाउँनै सक्दैनन् नि धेरैले । यसैले खान्छ सबैजना रक्सी । के गर्ने । फोहोर सफा गर्दा रोग लाग्छ भन्ने त थाहा छ नि तर खै जुत्ता, पञ्जा, मुखमा लगाउने (मास्क) कस्ले दिन्छ ? एक चोटी दिएको थियो बिएमसीले तर फेरि दिएन । उपचार गर्न त हामी अस्पताल जान्छु नि सबैजना । कहाँ जाँच्छ हौ नगरपालिकाले । औषधि पनि कहाँ दिएको छ हामीलाई । एक हप्ता फोहोर हामी जब उठाउँदैन नि तब हेर्नु के हुन्छ विराटनगर ? तर, के गर्ने हाम्रो मान्छेहरू कोही पनि मिल्नै सक्दैन । डराउँछ । ख्वै त हाम्रो उपकार (गुन) लाई अझै कसैले याद गरेको पनि छैन । नगरपालिकाले पनि याद गरेन । बरु पहिले दरबन्दी धेरै थियो त्यो पनि सबै कटाइ दियो । अहिले हाम्रो मान्छे ज्यालामा काम गर्छ । त्यो पनि भनेजति पाउँदैन ।

lk

केटाकेटी ख्वै पढदै होला कोही कोही । तर, पढ्न मन गर्दैन । काम पनि गर्नुपर्छ नि । गरिबले कसरी पाल्न सक्छ बाबुआमाले मात्र । सानोमा बिहे गर्ने त परम्परा हो नि । अब के गर्ने बिहे नगरेर । परम्परा नै यस्तो छ हाम्रो । तर, नयाँहरूले ढिलो बिहे गर्न थालेको छ । बुझ्ने भैसकको छ धेरै जना ।

हामी त गरिबीको स्कुल हो

हामी गरिब छु । यसैले धेरै जना आउँछ हाम्रो बस्ती र हामीलाई हेर्न । कहिले पत्रकार आउँछ । कहिले संस्थाको मान्छे भन्दै आउँछ । तर, के–के सोध्छ अनि जान्छ । केही दिँदैन । केही भएको पनि छैन । नेताहरू पनि आउँछ । कहिले भाषण गर्छ । कहिले भोज पनि खियाउँछ (खुवाउँछ) तर केही दिँदैन । यसैले अब त टोलको मान्छे केही बताउँन चाहँदैन । हाम्रो बस्तीलाई त सबैले गरिबको स्कुल भन्छ रे । हाम्रो जीनगीमा पहिलेको भन्दा धेरै सुधार त भएको छ नि तर गरिबी हटेको छैन । काम गरेन भने खान पाउँदैन । यसैले जसले जे पनि सबैजना चुपचाप आफ्नो काम गर्छ ।

Loading...