fbpx

पत्रपत्रिकामा देश : प्रधानमन्त्रीको स्वास्थ्य सुचनामा खेलवाड

विराटनगर १५ कात्तिक । आज काठमाडौंबाट प्रकाशन हुने दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा प्रमुखताका साथ समाचार छापेका छन् । यस्तै निवर्तमान सभामुख महराविरुद्ध संसद सचिवालयकै कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा मुद्धा दायर भएको समाचार पनि मुख्यपृष्ठमा छापेका छन् ।

नयाँ पत्रिका दैनिकले ‘प्रधानमन्त्रीको स्वास्थ्य सूचनामा खेलबाड’ शिर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्रीको रगतमा पानीको मात्रा बढी भएर शरीर सुन्निएको अनि ज्वरो आएपछि अस्पताल भर्ना गरिएपनि अस्पतालका मेडिकल निर्देशक र प्रधानमन्त्री ओलीकै नीजि चिकित्सकले हस्ताक्षर गरेर जारी गरेको प्रेस नोटमा भने नियमित चेकजाँचको लागि मात्रै अस्पता भर्ना गरिएको उल्लेख थियो ।

अस्पताल र नीजि चिकित्सकले पेशागत आचारसंहिताविपरीत प्रधानमन्त्री ओलीको स्वास्थ्य सुचनामा खेलवाड गरेको नयाँ पत्रिकामा उल्लेख छ । यस्तै प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार हुँदा पनि सुचना लुकाइएको थियो । बुधबार दिउँसो प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा उच्च देखिएपछि अल्ट्रा फिल्ट्रेसन गरिएको थियो भने बुधबार र बिहीबार गरि दुई पटक डाइलासिस गरिएको छ । कान्तिपुर दैनिकले यही समाचार ‘प्रधानमन्त्री बालुवाटार फिर्ता, दुई पटक डाइलासिस’ शिर्षकमा मुख्य समाचार छापेको छ ।

कान्तिपुर दैनिकमा ‘महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबी’ शिर्षकमा मुख्यपृष्ठमा समाचार छ । पीडितले १०० मा फोन गरेको, किटानी जाहेरी दिएको, सुरक्षाकर्मीको बया, सिसीटिभी फुटेजका साथै घटनास्थलमा बरामद सामान प्रमाणका रुपमा पेश गरिएको छ । उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई बलात्कार प्रयासकै परिणामको रुपमा देखाइएको छ ।

संसद सचिवालयकी कर्मचारी माथि बलात्कारको प्रयासमा उल्लेखित प्रमाणका रुपमा पेश गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ७ वर्ष कैद मागदाबी सहित महराविरुद्ध मुद्धा दायर गरेको हो ।सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरीको प्रतिवेदन अध्ययन गरेर बलात्कारको प्रयासको आरोपमा मुद्धा दायर गरिएको बताए ।

नागरिक दैनिकमा ‘प्रधानमन्त्री डिस्चार्ज, दुई पटक हेमोडाइलासिस’ र ‘महराविरुद्ध मुद्धा दर्ता’ शिर्षकमा मुख्यपृष्ठमा समाचार छ । यस्तै महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका महराले परीक्षणको लागि प्रहरीलाई रगत दिन मानेनन् । उनले पोलिग्राफ परीक्षण गराउन पनि मानेनन् । महरालाई डिएनए परीक्षण गराउनको लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

Loading...