fbpx

पत्रपत्रिकामा प्रदेश : निर्माण जनश्रमबाट, नेताका नाममा १६ लाख

विराटनगर १५ कात्तिक । मोरङको उर्लाबारी ८ स्थित बक्राहा नदीमा असार २४ गते आएको बाढीले कटान गर्न थालेपछि स्थानीय बाँसको प्रकुपाइन बनाएर सन्थाल बस्ती जोगाए ।

आफ्नै पहलमा गाउँलेले प्रकुपाइन बनाएपनि प्रदेश सभा सदस्य र स्थानीय नेताले त्यसबापत सम्बन्धित कार्यालयबाट १६ लाख रुपैयाँ भुक्तानी लिएको कान्तिपुर दैनिकमा खबर छ । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाबाट प्रकुपाइन बनाउन १६ लाख रुपैयाँ भुक्तानी भएको छ । नेकपाका प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, स्थानीय नेकपाका नेता नारायण बस्नेत, कुलप्रसाद चौलागाइँलगायतले साउन पहिलो साता पत्रकार सम्मेलन गर्दै स्थानीयको सहयोगमा ५ सय मिटर बाँसको प्रकुपाइन बनाएको बताए ।

सरकारी निकायले कुनै किसिमको सहयोग नगरेको उनीहरुको भनाई थियो । तर पछि उनीहरुले आयोजनाबाट भुक्तानी लिएको खुलेको हो । नदीमा बाढी आएपछि मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको निर्देशनमा प्रकुपाइन निर्माण गरिएको अयोजनाका सवइन्जिनियर टेकेन्द्रबहादुर शाहले बताए ।

प्रकुपाइन निर्माणका लागि स्थानीयले श्रमदान गर्नुका साथै बाँसपनि उपलब्ध गराएका थिए । साम्बाले आफूहरुको पहलमा काम भएपनि काम भने आयोजनाको कार्यालयले नै गरेको बताए । तर साम्बा, चौलागाई लगायतका नेताहरुले भुक्तानीको लागि दबाब दिएपछि तत्कालिन आयोजना प्रमुख इश्वरीप्रसाद तिबारीले सुनसरीका निर्माण व्यवसायी रवीन्द्र पौडेलका नाममा भुक्तानी गरेका थिए ।

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको इकोनोमिक्स इन्भेष्टमेन्ट प्रालिका सञ्चालक ग्राहकको लाखौँ रकम लिएर बेपत्ता भएको खबर ब्लाष्ट टाइम्समा छ । इन्भेष्टमेन्ट प्रालिका सञ्चालक दर्शन श्रेष्ठ फरार भएका हुन् । यस्तै कर्मचारीहरुले समेत तलब नपाएको गुनासो गरेका छन् । इन्भेष्टमेन्टले दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोग गरेर बचत उठाउने गरेको थियो ।

विवादकाबीच रेडक्रसमा चुनावको तयारी शिर्षकमा उद्घोष दैनिकमा समाचार छ । प्रतिनिधि छनोटमा अनियमितता भएको भन्दै विरोधका कारण स्थगित भएको नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको निर्वाचन कात्तिक २३ गतेको लागि घोषणा गरिएको छ ।

Loading...