fbpx

पूजामा अझै विभेद भोग्छन् मरिकहरू

विराटनगर, १४ कात्तिक । कथित उपल्ला जातीहरूले छुन नहुने फोहोरी र तल्लो जाती भनेर दलित समुदायमा पर्ने डोम, चमार र दुसाध, खत्वे र धोवी (मरिक, मल्लिक, राम र पासवान, दास, रजक) समुदायलाई हेप्ने गर्दथे । उनीहरूलाई संगै बसेर पूजाआजा गर्न त परै जाओस् पूजास्थलको बाटो हिँड्नसमेत प्रतिबन्ध लगाइन्थ्यो । चिया पसल र होटलमा किनेर खानसमेत बर्जित थियो ।

समयको परिवर्तनसंगै छुवाछुतको चलन हराउँदै गएपछि दलित समुदायहरूले होटलमा खान र मन्दिरमा पसेर पूजा गर्न पाउन थाले । तर, दलित (दलितभित्रको पनि दलित) भनेर चिनिँदै आएको मरिक समुदायले भने अझै पनि प्रत्यक्ष रूपमा विभेद भोग्दै आएका छन् । अझै पनि उनीहरू निर्भिक रूपले होटलहरूमा किनेर खान मात्र हैन अन्य उपल्ला जातीहरूसंगै सामूहिक पूजामा सरिक हुन विभेद भोग्छन् ।

जातीय भेदभाव तथा छुवाछुत तथा कसुर सजाय ऐन कार्यान्वयनमा आएपछि मरिकहरूले भोग्दै आएको छुवाछुतमा केही कमी आएपनि मरिकहरूले दुर्गा पूजा, छठ पूजा, पुराण, यज्ञ आदिमा विभेद भोग्नु परिरहेको दलित अगुवा बलदेव मरिक बताउँछन् । शहर–बजारमा विभेदको मार थोरै भएपनि गाउँमा भने अझै छुवाछुत चरम रूपमा रहेको उनको भनाइ छ । मोरङको कर्सिया र रंगेली बजारमा बस्ने मरिकहरूले अझै सामूहिक पूजाआजा गर्न पाएका छैनन् । तर, घाटनजिकै बस्ने र सरसफाइ पनि आफैँले गर्ने भएपनि पहिलो दाबेदार रहेका दलितहरूले अझै छठपूजामा पहिलो प्राथमिकता भने पाउने गरेका छैनन् ।

उनीहरूलाई अझै सकेसम्म तल र अप्ठेरो र उब्रिएको ठाउँ दिने गरिएको छ । पूजा पनि घुलमिल गराएर हैन आफ्नो समुदायको एकै ठाउँमा पूजास्थल बनाउन लगाएर गर्न लगाइन्छ । सुकिला स्थानहरूमा अगाडिपट्टि पहुँचवालाहरूले निक्कै तामझामसाथ टेण्ट लगाएर पूजास्थल सजाउने गर्छन् तर दलित भनिएकाहरूको पूजास्थल भने सानो साँघुरो र अध्याँरो ठाउँमा हुने गरेको छ ।

घाटनजिकै बस्ने र सरसफाइ पनि उनीहरूले नै गर्ने भएपनि पहिलो दाबेदार रहेका दलितहरूले अझै छठपूजामा पहिलो प्राथमिकता भने पाउने गरेका छैनन् । उनीहरूलाई अझै सकेसम्म तल र अप्ठेरो र उब्रिएको ठाउँ दिने गरिएको छ । पूजा पनि घुलमिल गराएर हैन आफ्नो समुदायको एकै ठाउँमा पूजास्थल बनाउन लगाएर गर्न लगाइन्छ ।

पेशा बाँसको सामग्री बनाउने, काम मलमूत्र सोहोर्ने

विराटनगर–१५ जनपथ टोल बस्ने नरेश मरिक र उनकी श्रीमतीलाई हरेक वर्ष जब दीपावली र छठ पर्व आउँछ तब बाँसको कोनिया र ढाकी बनाउन भ्याइ–नभ्याइ हुन्छ । यो वर्षको छठ पर्व सुरु भैसकेकोले मागअनुसारको सामान बनाएर बजारमा पुर्याउन सके केही आम्दानी गर्न सकिने उनीहरूमा आशा थियो । यसैले नरेश र उनकी श्रीमती मात्र हैन जनपथटोलका १५ घर बढी मरिक समुदायका मानिसहरू धमाधम छठका लागि बाँसका विभिन्न बनाउन ब्यस्त भए ।

कानूनले बर्जित गरेपनि मरिकहरूलाई अझै पनि समाजमा सबैभन्दा तल्लो जातको र फोहोरी काम गर्ने समुदाय भनेर अमानवीय छुवाछुत गर्ने गरिँदै आएको छ । फाहोर सोहोर्ने काम गरकैले उनीहरूले छोएको पानी र खाना खान हुँदैन भन्ने पुरानो अन्धविश्वासी मान्यता समाजमा अझै पनि कायमै छ । तर, तिनै कथित अछुत भनाइएका मरिकहरूको मुख्य पेशा चाँहि फोहोर सोहोर्ने नभएर बाँसका कलात्कम सामग्री बनाउनु हो । उनीहरूले बनाएको बाँसका सामग्री भने सबै पर्वहरूमा पवित्र मानेर प्रयोग गरिँदै आएको छ ।

समाजमा अझै महादलित बनाएका र चरम छुवाछुतको मार सहँदै आएका मरिक (डोम) समुदायले कलात्मक ढंगले बनाएका बाँसका कोनिया र ढाकीहरू बनाउने भएकोले धार्मिक पूजाआजामा उनीहरूले बनाएको सामग्री पवित्र मानिँदै आएको हो । छठ पर्वमा मरिक समुदायले बनाएका बाँसका कोनिया र ढाकीमा पूजा सामग्री र नैवेद्य राखेर पूजा गरे बढी पुण्य हुने आमविश्वास छ ।

यसैले छठ पर्वको बेला अन्य काम छाडेर पनि डोम समुदायका मानिसहरूलाई बाँसका सामग्री बनाउन भ्याइ–नभ्याइ हुने गर्छ । उनीहरूले बनाएका सामग्री किन्न धेरै जना घरमै आउने गर्दछन् । केहीले चाँहि महाजनहरूका घरघरमा डुलाएर बेच्ने गर्दछन् । दलित अगुवा बलदेव मरिकका अनुसार डोम समुदाय परम्परागत रूपमा बाँसको सामग्री बनाएर गुजारा चलाउने समुदाय हो । तर, समयक्रमसँगै निर्धन भएकोले धनी शासकहरूले पछि उनीहरूलाई मलमूत्र सोहोर्ने र सिनो फाल्ने काम लादेकोले उनीहरूलाई अछुत भन्नेर हेप्ने गरिएको हो ।

अरुबेला तल्लो जाति भनेर हेला गर्नेहरूले छठ पर्वका बेला ढाकी किन्न घरमै आउँदा आफूहरूलाई खुशी लाग्ने गरेको जनपथ टोलका ६० वर्षीय अगुवा महावीर मरिकले बताए । उनले आफूहरूको काम बाँसका सामग्री बनाउने भएपनि स्रोत र साधनको अभावमा पेशा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । जनपथ बस्तिमा झण्डै ५० घरपरिवार मरिक समुदायका मानिसहरूको बसोबास छ । तर, धेरैले आफ्नो बाँसका आर्कषक सामग्री बनाउने परम्परागत पेशा बिर्सिसकेका छन् । केही पाकाहरूलाई मात्र यो आफ्नो पुख्यौली पेशा हो भन्ने हेक्का छ । सरकारी प्रोत्साहन नपाएकोले र आफूहरूसँग पूँजी पनि नभएपछि जीविका चलाउन अर्कै काम रोज्नु परेकोले आफ्नो पेशा लोप हुँदै गएको अगुवा महावीर मरिक बताउँछन् ।

मरिक अगुवाहरूका अनुसार आफ्नो पुख्यौली पेशा बाँसका सुकिला सामग्री बनाउनु भएपनि राज्यले संरक्षण नगरिदिँदा चाँडै र सजिलै आम्दानीका लागि मरिकहरू फोहोरी नै भएपनि सफाइको कामलाई नै मुख्य पेशा बनाउन बाध्य भएका हुन् । आजकल मरिकहरू कोही कार्यालयमा सरसफाइ कर्मचारीका रूपमा काम गर्दछन् भने कोही निजी घर र होटलहरू तथा उद्योग र अस्पतालहरूमा सफाइ मजदूरका रूपमा काम गर्ने गरेका छन् । पुख्यौली सीप जानेकाहरूले मात्र फुर्सद भएका बेला आफ्नो परम्परागत पेशा बाँसका सामग्री बनाएर बिक्री गरी अतिरिक्त आम्दानी गर्ने गर्छन् । तर, पूँजीपतिहरूले खोलेका आधुनिक उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा मरिकहरूको योे पेशा झन् संकटमा परेको छ ।

परम्परागत रूपमा बाँसका सामग्री बनाउँदै आएका मरिकहरू सडकको फहोर मात्र सफा गर्दैनन् । उनीहरू अझै पनि टाउकोमा बोकेर वा हातले मलमूत्र सफा गर्न बाध्य छन् । पर्याप्त भौतिक स्वास्थ्य सामग्रीहरू प्रयोग गर्नबाट उनीहरू बञ्चित छन् । यसरी मलमूत्र र फोहोर सफा गर्र्ने काम अमानवीय हो ।

तर, वंशाणुगत सीप लोप हुँदै गएपछि मरिकहरू हेपिएर फोहोर सफा गर्ने काम गर्न बाध्य भैरहका छन् । गरिबी र अशिक्षाले गर्दा नै उनीहरू चाहेर पनि फोहोरी पेशा त्याग्न सकेका छैनन् । ‘उनीहरूलाई आत्मनिर्भर बनाउन छठका बेलामा मात्र हैन, सरकारले विशेष सहयोग गरेर बाँसका सामग्री बनाउने पेशातर्फ आर्कषित गर्न सके जीवनस्तरमा पनि चाँडै सुधार आउन सक्ने थियो’, दलित अधिकारकर्मी उमेश विश्वकर्मा भन्छन् ।

Loading...