fbpx

भद्रेको टोलीका निर्देशकको जीवनयात्रा

सिके श्रेष्ठ ७८ भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लाका बासिन्दा हुन् । हाल सिलिगुडीमा बसोबास गरिरहेका उनी नाटककार, नाट्य कलाकार निर्देशक मात्र नभएर पत्रकार, गीतकार, साहित्यकारदेखि भारतमा रहेका नेपालीहरूको मुक्ति आन्दोलनका लागि राजनैतिक आन्दोलनका सचेतक पनि हुन् । भारतको राष्ट्रिय नाट्यभूषण पदकबाट विभूषित उनी भारतमा नेपालीहरूको अधिकार प्राप्तिको आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् । नेपाली भाषा आन्दोलनमा दार्जिलिङ, कालेबुङ, आसामलगायतका क्षेत्रमा गाउँगाउँमा गएर उनले नाटक प्रर्दशन गरी नेपाली भाषा र गोर्खाहरूको मुक्तिका लागि जागरणको दीयो बाल्ने काम गरेका छन् । लामो जागरण योगदानकै कारण उनी भारतीय नेपालीहरू (गोर्खा)हरूमाझ श्रद्धेय पनि मानिन्छ । अगुवा सचेतकमा पनि गनिन्छन् । आफ्नो परिवर्तनको यात्राबारे अभियानकर्मी अगुवा सिके श्रेष्ठ यसरी बेलिबिस्तार लगाउँछन् …………………

aa

कालेबुङमा शिक्षा

म कालेबुङमा जन्मे–हुर्केको मान्छे । स्कुले जीवनमा कालेबुंङमा त्यो बेला भित्ते पत्रिका निकाल्थ्यौँ । यसैले साहित्यतिर रुचि र संगत बढ्दै गयो । साहित्यिक कार्यक्रममा भाग लिन थालियो । नेपाली–हिन्दी दुवै भाषाको साहित्यमा रुचि बढ्यो । म स्कुल लेबलबाटै नाटकमा रुचि राख्थेँ । भाग लिन्थेँ । कलेज लेबलमा पनि त्यो सक्रियता कायमै रह्यो । अझै बढेर गयो ।

पढिसकेपछि म नोकरी–चाकरीमा कहिल्यै फसिँन । किन हो मलाई पैसा र जागिरतिर कहिल्यै मन गएन । म सानैदेखि सामाजिक दायित्वबोध गर्थेँ । पढेपछि अझै दायित्व बोध भयो । र, समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । र, म परिवर्तनतको अभियानमा हिँडे र हिँडिरहेँ । कहिले आन्दोलनको अगुवा बनेर त कहिले साहित्यकार र नाटककार बनेर । अहिले पनि निरन्तर मुक्तियात्रामा लागिरहेँ लागिरहेको छु ।

श्रीमतीको सहयोग सह्रानीय

म सम्पत्ति आर्जन नगर्ने फिरन्ते स्वभावको मान्छे । तर, मैले अरुले जस्तो परिवारबाट घृणा र तिरस्कार भोग्नु परेन । मेरो घरपरिवार पनि शिक्षित भएकोले सहानुभूति पाइरहेँ । पछि मलाई श्रीमती पनि सचेत भएकोले होला आर्थिक संकट खासै परेन । बिहेअघि घरपरिवारबाट सहयोग भयो । बिहेपछि म सधैँ श्रीमतीकै कमाइमा बाँचे । उनकै क्वार्टरमा बसे । अहिले पनि बसिरहेको छु, बाँचिरहेको छु । मैले जे जति गरे समाजकै लागि गरेँ र गरिरहेको छु । पैसाको लोभलालचमा कहिल्यै फसिँन । फस्दिन पनि ।

ड्राइभर भएपछि नाटककार

मैले जीवनको कालखण्डमा दुग्ध सहकारीको ट्रक पनि चलाएँ । कालेबुङका गाउँगाउँबाट दूध संकलन गरेर तराई जलपाइगुडितिर ल्याउँथे । केही बर्ष चालक बनेँ तर त्यसले निरन्तरता पाएन । जब मैले गाउँगाउँ गएर दूध संकलन गर्न थालेँ तब समाजको तल्लो वर्गसँग प्रत्यक्ष संवाद गर्ने मौका पाएँ । तब मैले बुझेँ, गाउँमा धेरै सशक्तिकरणको आवश्यकता छ । गोर्खाहरूको मुक्ति र नेपाली भाषाको पहिचानका लागि चेतनाको दीयो बाल्न आवश्यक छ । अनि मैले थप बुझेँ यो नाटकबाट मात्र सम्भव छ । अनि म नाटक लेख्न, खेल्न र खेलाउन थालेँ । समाज के अवस्थामा छ भन्ने बुझ्न सबैभन्दा तल्लो तह नै सत्य हुन्छ । त्यो नै तथ्य हो ।

नाटक माध्यम मात्रै

म नाटककै लागि नाटककार भएको हैन । म नाटकबाट गाउँगाउँमा नेपालीहरूमाझ चेतना जगाउन नाटककार भएको हुँ । नाटकबाट सशक्तिकरण गर्न सकिन्छ भन्ने मेरो ठहर थियो । यसैले नाटकलाई माध्यम बनाएँ । म नाटकर्मी भनेर चिनिने कारण नाटक आफैँले लेख्ने, खेल्ने र खेलाउने गरेकोले मात्र हो । मेरो भित्री चाहना गोर्खाहरूको मुक्ति र नेपालीभाषाको पहिचानलाई जोगाउनु थियो । साँचो अर्थमा म नाटककारभन्दा पनि परिवर्तनका लागि अधिकारको अभियन्ता थिएँ । र, अहिले पनि त्यही हुँ ।

एघार वर्षसम्म भाले मुंग्रो रोयो

मैले सन् १९७७ मा ‘अनि भाले मुंग्रो रुन्छ’ भन्ने नाटक लेखेर प्रर्दशन गरे । जुन भारतका विभिन्न प्रान्तमा एघार वर्षसम्म चल्यो । यो पुरानो शैलीको नाटक थियो । मैले नाटकलाई समानुकुल बनाउन बनारसबाट नाट्य उस्ताद मोतीलाल गुप्तालाई गुरु बनाएर कालेबुङ बोलाएँ । उनकै सहयोगले खुल्ला नाटक गर्न थालियो । जसलाई हामी सडक नाटक र अंग्रेजीमा थर्ड नाटक पनि भनिन्थ्यो । भारतमा सडक नाटक वामपन्थीहरुले मात्र खेल्छन् खेलाउँछन् भन्ने बुझाई थियो । त्यो आरोपबाट हामी पनि मुक्त हुन सकेनौँ । तर, आरोप जे भएपनि हामीले गाउँगाउँमा मुक्ति र पहिचानका लागि जागरणको दीयो सल्काउनु थियो । यसैले आरोपको पर्वाह नगरी लागिरह्यौँ, निरन्तर ।

सडक नाटकपछि हामीले चौथो थिएटरको सुरुआत गर्यौं । चौथो थिएटरमा हामीले नाटक सशुल्क हलभित्र देखाउन थाल्यौ । ‘ऐनामा हेर्दा रामसाइली’ सन् २००० तिर प्रर्दशन गर्यौं । जसले गोर्खा आन्दोलनलाई धेरै प्रेरणा दियो । सन १९८० तिर ‘भद्रेको टोली’ गठन गरेर हामीले नाटक प्रर्दशन थालेका थियौँ । भद्रे भनेको मेरो नाटकका एक मुख्य पात्र हुन् । मेरा जुनसुकै नाटकमा उनी हुन्छन् । भद्रे अर्थात् भद्रबहादुर लामिछाने पात्र जो साधारण निम्न वर्गीय परिवारको पात्र हो । मैले यही पात्रलाई लिएर दुई दर्जन नाटक लेखेर प्रर्दशन गरिसकेको छु ।

आसामको थिएटरमा तालिम

नाट्य क्षेत्रमा धेरै प्रगति भएको भनिएको भारतको आसाममा हो । त्यहाँ सिनेमाभन्दा पनि थिएटरलाई महत्त्व दिइन्छ । मानिसहरू सिनेमाभन्दा थिएटर हेर्न रुचाउँछन् । कलाकारहरू सिनेमामा भन्दा पनि थिएटरमा खेल्न बल गर्छन् । त्यहाँ क, ख, ग वर्गका थिएटर छन् । कलाकारहरू पनि सोहीअनुसार हुन्छन् । एउटा थिएटर महिनौँसम्म चल्छ । एक सिजनमा चार वटासम्म नाटक एउटा थिएटरमा चल्छ । कलाकारहरूले प्रसस्त सेवा सुबिधा पाउँछन् । प्रचारप्रसार पनि भब्य गरिन्छ । असामी थिएटरको चर्चा औधी थियो ।

यसैले म पनि नाटकबारे बुझ्न र थप तालिम लिन आसाम गएँ । त्यहाँ थिएटरमा भर्ना भएर काम सिकेँ । त्यसपछि फर्केर आफैँले मोबाइल थिएटर संरचना तैयार पारेँ । जसका लागि हामी पैतीस जनाको टोली तैयार भयौँ । गाउँमा गएर नाटकका लागि थिएटर बनाउन थालेपछि मानिसहरू सोध्थे, ‘अनि दोज्यु खेल्ने कलाकारहरू चाँहि कहिले आउँछ नि त हो ?’ तर हामी नै कलाकार हुन्थ्यौँ, पछि नाटक हेर्दा उनीहरू छक्क पर्थे । हामी सबै काम आफैँ गथ्र्यौं । आसामबाट फर्केपछि मैले ‘सलाम रेलीमाई’ भन्ने नाटक ७५ शोसम्म चलाएँ । सन् २००९ मा हामीले पूर्णाङ्की नाटक ‘अन्धाहरूको राम कहानी’जस्ता नाटक पनि गर्यौं । पछि हाम्रा कलाकारहरूलाई आसामको लालीगुराँस थिएटरले हायर गरेर लग्यो । त्यसपछि चाँहि नाट्य यात्रालाई निरन्तरता दिन सकिएन ।

उडिसामा राष्ट्रिय नाट्य भूषण उपाधि

मैले नाटकमा सबैखाले शैलीमा काम गर्ने अनुभव संगाल्ने मौका पाएको छु । यसैले सन् २००६ मा उडिसामा भएको नाटकर्मीहङको प्रतिगोगिताबाट मैले नाट्य भुषणको उपाधि पाएँ । मैले सन् २००४ बाट गाउँगाउँबाट आफैँ नेपाली शिल्पीहरू बटुलेर नाट्य कार्यशाला पनि चलाएँ । कार्यशालाबाट तीन सय जति शिल्पीहरू उत्पादन भएका थिए । सबै कलाकार त बन्न सकेनन् तर प्रभावकारी नाट्य प्रचारक चाँहि भए । उनीहरू समाज सुधारक बन्न सफल भए ।

नाट्कर्मीहरू समाज सुधारक हुन्

नाटक र नाट्यकर्मीहरू मात्रै मनोरञ्जनकर्ता वा मनोरञ्जनका लागि मात्र हैनन् । उनीहरु व्यवसायिक कलाकार मात्र पनि हैनन् समाज सुधारक पनि हुन् । मैले आफ्नो नाट्य यात्राको अभियानबाट यही सिकाइ पाएको छु । अहिलेसम्म सही नाटकको परिणाम नकारात्मक पाएको छैन । मलाई नाट्य यात्रामा लागेपछि धेरैले गाली गरे । ठूलो मान्छे बन्न छाडेर आँगन–आँगन चहारी हिँडछ भनेर पनि गाली गरे । तर, मैले कहिल्यै हरेस खाइँन । आफ्नो नाट्य यात्रामा निरन्तर लागिरहेँ ।

तृष्णापछि सिनेमाप्रति वितृष्ण

मैले नेपाली फिचर फिल्म ‘तृष्णा’ पनि लेखे । सबै गीत मैले नै लेखेको हुँ । कलाकार मुरलीधर र निर्देशक उगेन छोपेलको आग्रहले मैले तृष्णाको कथा, पटकथा र गीत लेखेको थिएँ । त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा सफल पनि भयो । तर, मलाई चाँहि तृष्णापछि सिनेमाप्रति वितृष्ण जाग्यो । हामी नाट्यकर्मी अभियन्ताहरूको कमर्सियल सिनेमाहरूसँग तालमेल मिल्दो रहेनछ । यसैले मैले फेरि आग्रह आएपनि फिल्म लेखनमा रुचि देखाइँन ।

४० वर्षपछि प्रणामी

म ४० वर्षसम्म मांसाहारी थिएँ । मैले प्रणामी घरमा घरजम गरेको हुँ । मलाई ससुराली पक्षले पहिलेदेखि नै प्रणामी बन्न सुझाव दिन्थे । तर, मैले गहन अध्यन गर्न पाएको थिइँन । पछि मोरङको सलकपुर भन्ने ठाउँमा पण्डित हेमकर्ण शास्त्रीसँग डेढ महिना सँगै बसेर दीक्षा लिएपछि मैले प्रणामी धर्म ग्रहण गरेको हुँ । उनीसँग एउटै कोठामा बसेर मैले प्रणामी धर्मबारे धरै जान्ने बुझ्ने र दीक्षा लिने अवसर पाएको हुँ । ईश्वर अल्लाह तेरे नाम सबको सोमती दे भगवान भनेर महात्मा गान्धीले त्यसै भजन लेखेका होइन रहेछन् । तर, प्रणामी धर्ममा पनि धेरै विकृति छन् । सबै धर्म खराब हुँदैनन् तर त्यसलाई खराब बनाइँदोरहेछ । यसैले धर्मको जागरण अभियानमा लाग्न थालेको छु ।

भारतीय गोर्खा परिसंघमा प्रवेश

म जागरण अभियानका लागि नाट्य यात्रा लिएर दार्जिलिङका गाउँगाउँमा थिएँ । सन् २००५ मा आएपछि मलाई भारतीय गोर्खा परिसंघमा आएर जिम्मेवारी सम्हाल्न दबाब आयो । किनभने परिसंघ नेतृत्त्वबिहीन भसकेको थियो । तैँले नसम्हाले अब संस्थालाई कस्ले सम्हाल्छ भनेर दबाब बढ्यो । मलाई पनि लाग्यो परिवर्तनको आन्दोलनलाई निभ्न दिनुहुँदैन । यसैले म परिसंघको कार्याकारिणी भएर भारतका नेपालीहरूको मुक्ति आन्दोलनमा सक्रिय रूपले सहभागी बनेँ । अझै बनिरहेको छु । म भारतमा रहेका अल्पसंख्यक नेपालीहरू (गोर्खाहरू) ले जातीय राज्य मागेर मुक्ति पाउन सक्दैनन् बरु त्यसको सट्टा भारतमा बस्ने सबै नेपालीभाषीहरूको एउटा संयुक्त छाता बनाउनुपर्छ भनेर ‘सेटेलाईट फेडरलिज्जम’ अर्थात् गैरभौगोलिक संघीयताको पक्षमा लागेको हुँ । र, मलाई लाग्छ यो नै हामी गोर्खाहरूको मुक्तिको उपाय हो । अल्पसंख्यकहरूको अधिकार सुनिश्चित हुने मार्ग हो । तर, जातिवादी राजनीति गर्नेहरूले अझै यसबारे बुझ्न चाहिरहेका छैनन् । र, बुझेकाहरूले बुझ पचाइरहेका छन् । म निरन्तर यसका लागि पनि जागरण अभियानमा छु । किनभने आधुनिक भारतका निर्माणकर्ता गोर्खालीहरू पनि हुन् । उनीहरूमाथि भारतले न्याय दिनुपर्छ । किनभने हामी गोर्खाहरूले भारत निर्माणका लागि ज्यान अर्पण गरेका छौँ । जीवनको आहुती दिएका छौँ । आधुनिक भारतलाई बनाउन रगत पसिना खर्चेका छौँ । अर्को के पनि हो भने जब सुगौली सन्धी भयो त्यो बेला नेपालबाट टुक्रिएका हामी नेपालीहरू भारतमै थियौँ कतै बाहिरबाट आएका थिएनौँ । यसबारे जागरण गराउन मैले आधुनिक भारतको इतिहास विभिन्न पत्रपत्रिकाहरूबाट लेखेर बुझाउँदै पनि आएको छु । किनभने आधुनिक भारतको मानचित्रले प्रष्ट भन्छ, ‘त्यो बेला बृहत्त हिन्दूस्तान थिएन, भारत स्वतन्त्र भएपछि मात्र भारत बृहत्त बनेको हो । यसैले आधुनिक भारतमा सबैको अधिकार सुनिश्चित हुनुपर्छ ।’

रोइरहेकाहरूलाई उठाउन ‘मनै त हो नि’ डीभीडी

वि.सं २०७२ साल । सबैतिर चिच्याहट मात्र थियो । सबै रुने मात्र भए । जता गयो त्यतै रोदन नै रोदन देखापर्यो । लौ सबै समाप्त भयो । लौ देश खत्तम भयो । लौ केही गरि अब नेपाल उठ्न सक्दैन । नेपालीहरू बाँच्न सक्दैनन् । सबै ध्वस्त भयो । सुन्दर हिमालयको देश खण्डहरमा फेरियो । जताततै यस्तै दृश्यहरू देखिन सुनिन थाले । समाचारहरू लेखिन, पढिन थाले । गीत–कविता पनि यस्तै लेखिन थाले । टेलिभिजन र रेडियोका कार्यक्रम र बृत्तचित्रहरू पनि यस्तै मात्र बन्न थाले । यहाँसम्म कि आँट दिने मान्छेहरू पनि आफैँ रुन थाले । चर्चित कलाकारहरूले हौसला दिनुपर्ने थियो तर उनीहरू पनि रुन थाले । सबै निराश बने । रोगी जस्ता भए । संसार हल्लाउने नेपालीहरू होस् गुमाएर परर्भिर भए ।

‘हैट यो त सारै भएन’ के साँच्चै देश खत्तम भएकै हो त, के अब नेपालीहरू कहिल्यै उठ्न सक्दैनन् त, के वीर नेपालीहरूले अब सधँैका लागि हरेस खाएकै हुन् त, के विश्व हल्लाउने नेपालीहरूको जीवन अब रोएरै मात्र बित्ने भो त, के विश्वमा वीर भनेर कहलिएका नेपालीहरू अब काँतर भनेर चिनिने भए त, के आपत्तको बेला आफैँ हामी नेपालीहरू सम्हालिन सक्दैनौँ त ?

लौ यो त साह्रै भएन । कोही न कोही त निस्कनै पर्छ आपत परेका बेला सम्हाल्ने अभिभावक । ‘एई नरो आँट गर मूला, लाछे हरेस खान्छस् हिम्मत छैन तेरो वीर गोर्खाली भएर काँतर हुन्छस्’ भनेर गाली गर्दै कसैले न कसैले त सम्झाउनै पर्छ ।

धर्तीलाई थर्काउने सहासी नेपालीहरूले काँतर भएकै हैन साहसी हुनुपर्छ । देश विपतमा परेको बेला विश्व हल्लाउने नेपालीले अब आफूलाई सम्हाल्नपर्छ र अरुलाई पनि सहयोग गर्नुपर्छ । यसैले उनले सोचे– उठ्नलाई त दह्रो मनमात्र भए पुग्छ । र, नेपालीहरूको मन साह्रै दह्रो हुन्छ । विपत परेका बेला अन्य देशमा रोएर धेरै माग्ने बनेको, दाताका अगाडि रोइकराइ गरेर मागेको उनले धेरै हेरे–देखेका छन् । तर, जस्तोसुकै दुःख भएपनि वीर नेपालीले मागेको देखेका छैनन् । उनलाई थाहा छ नेपालीले कतै मागिहाले पनि ‘धत तँ नेपाली भएर माग्ने, नेपालीको बेइज्जत गर्ने’ भनेर नेपालीहरूले नै गाली गर्ने गरेका छन् । नेपाली बरु एक छाक भोकै बस्छ तर मागेर खाँदैन । अरुले जस्तो रुँदैन । विपत्तिका बेला पनि मुस्कुराउँछ ।

हो नेपालीको धेर्यता र मुस्कानको कारण हो उसको दह्रो मन । त्योबेला मलाई लाग्यो डराएको मनलाई जगाउन सके त नेपालीहरू रुन छाडेर आफनो देश आफैँ बनाउन जुटिहाल्छन् । वीर नेपालीहरू हरेसबाट मुक्त हुन्छन् । अनि मैले जुक्ति निकालेँ आफ्नो सम्पर्कमा भएका कलाकारहरूको सहयोगमा डीभीडी निकाल्ने । र, उनले बनाए सांगीतिक डिभिडी ‘मनै त हो नि’ त्यसलाई इन्टरनेटमा पनि हाले । उनलाई लाग्यो रोदनका बेला त्यसले धेरै हदसम्म निराशालाई चिर्ने काम गर्यो । नेपालीहरूलाई निराश बन्न हैन हिम्मत गर्न बल पुर्यायो । भारतमै बसेर भएपनि उनले ऊत्त डीभीडीमार्फत सन्देश दिए, ‘मन दह्रो बनाएमा सबै सम्हालिन सकिन्छ । देश खत्तम भएको छैन । कत्रा–कत्रा समस्या पार लगाउने नेपाली विनाशका बेला आत्तिदैन । मन भए जत्ति पनि उठ्न सकिन्छ । फेरि नेपाल देश बनाउन सकिन्छ । आखिर उठ्नलाई चाहिने त मनै त हो नि ।

Loading...