fbpx

भित्र घाउ बाहिर शकुसल

खिलानाथ ढकाल

हिउँदमा टाउको दुख्छ । गर्मी सहन गाह्रो पर्छ।
देब्रे हात राम्रोसँग चल्दैन। हात उठ्दैन। कुमको जोर्नी गोलीले चिरिएको छ।
कुमभन्दा थोरै तल मात्र गोलीले भेटेको भए उनी उहिल्यै ‘जनयुद्धका सहिद’ घोषित भइसक्थे।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सोलुखुम्बुका सांसद सुरवीर राई झट्ट हेर्दा सकुसल देखिन्छन्, तर उनीभित्र जनयुद्धको घाउ आलै छ।
२०६० सालमा ओखलढुंगा रुम्जाटार भिडन्तमा गोलीको छर्राले टाउकोमा चोट लागेको थियो। छर्राका केही टुक्रा त निकालियो, तर केही निकाल्न नमिल्ने गरी जहाँको त्यही रह्यो।

‘हड्डीको बीचमा छर्रा अड्केको छ, निकाल्दा थप क्षति हुने भएपछि रह्यो,’ राई भन्छन्, ‘देब्रे कुम गोलीले नराम्रोसँग छेडेको हुनाले हात चल्दैन, गोली पार भएको थियो।’
देब्रे कुममा खोटाङ ऐंसेलुखर्क भिडन्तमा गोली लागेको थियो। गोली पार भएपछि हात नचल्ने भयो।

जतिबेला टाउको दुख्छ, जनयुद्ध सम्झाउँछ,’ राई भन्छन्, ‘बाहिर पो केही छैनजस्तो देखिन्छ, जनयुद्धको भित्री पीडा के छ त्यो भोग्नेलाई थाहा हुँदो रहेछ।’
कलिलो उमेरमा देश परिवर्तनका लागि भनी युद्धमा होमिएका राई सांसदसँगै नेकपाका केन्द्रीय सदस्य हुन्। राजनीतिक परिवर्तनका लागि उनले कलिलो उमेरमै युद्ध झेले, युवा अवस्थामै सांसद चुनिए।

पार्टी राजनीति र संसदीय भूमिकाले गर्दा बाहिर धेरै बोल्दैनन्, बोल्न जरुरी पनि ठान्दैनन्। उनले योगदान गरेको पार्टी नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण भइसकेको छ। जहाँ उनी केन्द्रीय नेतासँगै संसदीय भूमिकामा छन्।

तर, चित्त बुझ्दैन यसमा कि जनयुद्धका थुप्रै घाउसँग पार्टीले कहाँ कति सम्झौता गर्दै गयो? कतिलाई सम्बोधन गर्न सक्यो, कतिलाई सकेन। यथार्थमा ब्युझिँदा भरुवा बन्दुकको भरमा प्रारम्भमा युद्ध लडेको र त्यसको घाउले उनलाई पोल्न थाल्छ।
सांसद सुरवीरले वर्तमानमा भोगिरहेको पीडा यही नै हो। ‘भविष्यमा कहाँ पुगिएला त्यो समय र परिस्थितिले बताउँदै जाला,’ राई भन्छन्, ‘वर्तमानको यथार्थ यही हो।’

२०५४ सालको कुरा हो। नेकपा माओवादीले भर्खरै राज्यसत्ताविरुद्ध युद्ध प्रारम्भ गरेको थियो।
सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–४ (साबिकः नेचा बेदघारी गाविस–१) का राई केदार माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै थिए। गाउँमा कूरीति, विकृति, विसंगति, हेपाई प्रशस्तै थिए। माओवादीले यदाकदा त्यसमाथि कारबाही चलाउँदा उनी उत्साहित हुन्थे।

कलिलो बालमस्तिष्कमा ‘परिवर्तन त यसरी पो हुने रहेछ’ भन्ने परेछ। हेपिएका र पिछडिएका वर्गका मान्छेहरूलाई युद्धरत् माओवादीले संरक्षण दिन्थ्यो।
कम्युनिस्ट राजनीतिसँग उनको केही लेनादेना थिएन। उनको पृष्ठभूमि राजनीतिक पनि हैन। बाबु–बाजे ब्रिटिश लाहुरे। लाहुरे पृष्ठभूमिका उनलाई पढाइ–लेखाइ र जीवनयापनमा अप्ठेरो केही थिएन।

स्थानीय निकायको चुनाव भयो, तत्कालीन एमालेले जिल्लामा सबै ‘क्लिन स्वीप’ गर्यो। स्थानीय सरकार गठन भए। तर, विभेद यथावत् रहे।
उनले सोचे– यसविरुद्ध लाग्नैपर्छ।

आमा–बाबु छोरो ब्रिटिश आर्मी होस् भन्ने चाहन्थे। तर, जातीय र वर्गीय विभेद सहन नसकेर उनी तत्कालीन युद्धरत् पार्टीसँग नजिक हुन पुगे।
माओवादीसँग नजिक भएर काम गर्थे– गाउँकै भरत राउत (क. कसुम)। उनी कम्युनिस्ट साम्यवाद, वर्ग संघर्ष र तत्कालीन राजतन्त्रबिरोधी अभियान चलाउँथे। राउत घरिघरि घर तथा गाउँमा प्रशिक्षण दिँदै हिँड्थे।

राईले दुई वर्षसम्म राउतको विचार पछ्याइरहे। राईलाई राउतको साम्यवादी विचार मन परेछ। १० कक्षामा पढ्दापढ्दै उनी माओवादीमा हिँड्न तयार भए।
२०५६ साल, जतिबेला माओवादी तत्कालीन राज्यसत्ताविरुद्ध यदाकदा भिड्दै, पार्टी तथा सैन्य संरचना निर्माणको अभियान चलाइरहेको थियो। उनी त्यहीबेला माओवादी सैन्य संरचनाको सबैभन्दा तल्लो निकाय गुरिल्ला (स्कवाड)मा छिरे।

त्यसबेला गुरिल्लाको काम थियो– साधारण बम पड्काउँदै तर्साउँदै हिँड्ने। राज्यसत्तालाई चुनौती दिने। उनी यो अभियानमा सक्रिय भएर लागे।
गुरिल्लाबाट सैन्य संरचनामा राईको जिम्मेवारी पार्टीले क्रमशः बढाउँदै लग्यो। जंगल, स्कुल तथा खुला ठाउँमा परेड खेल्ने, सैन्य अभ्यास गर्ने क्रम चलिरहेको थियो। एक वर्षभित्रै उनी सैन्य गतिविधिमा पोख्त भए। २०५७ सालमा पार्टीले सैन्य संरचनाको जिल्ला प्लाटुन सदस्य बनायो।



गरिब, निमुखा, विभेदमा परेकाहरूको मुद्दा पार्टीले बोकेको थियो। त्यसकारण पनि माओवादी जनतामाझ लोकप्रिय बन्दै गएको थियो। गरिब र पिछडिएकालाई हेप्नेहरू माओवादीको गुरिल्ला दस्तासँग तर्सिन्थे।

उनले आफ्नो गाउँसँगै जिल्लाभरि गुरिल्ला दस्ताको कारबाही बढाए। पार्टीलाई जनतासमक्ष लोकप्रिय बनाए। उनको भूमिकाको उच्च मूल्यांकन हुन थाल्यो। उनी २०५७ सालकै अन्त्यतिर सेक्सन सह–कमाण्डरमा पदोन्नति भए।‘कलिलै उमेरमा सैन्य संरचनाको माथिल्लो तहमा पुग्नु चानचुने कुरा थिएन, म पार्टीमा बफादार भएकैले भूमिका पाउँथें,’ राई भन्छन्, ‘जो कोहीलाई यस्तो अवसर प्राप्त हुन्थेन।’

उनी २०५८ मा प्लाटुन कमाण्डर भइसकेका थिए। प्लाटुन कमाण्डर भनेको सैन्य संरचनाको जिल्ला तहको नेतृत्व थियो।
यहीबेला सरकारले माओवादीविरुद्ध आक्रामक कारबाही थाल्यो। सेना परिचालन गर्ने निर्णय ग¥यो। उनी जिल्लामा तत्कालीन सेना, प्रहरीसँग युद्ध गर्ने क्षमता राख्थे। ‘गाउँ–गाउँमा प्रहरी चौकी कब्जा गरिन्थ्यो, त्यसमा म नै अग्रपंक्तिमा हुन्थेँ, हामीले प्रहरीबाट थ्री नट थ्री राइफल धेरै नै लुट्यौं,’ राई भन्छन्।

माओवादी सेना भरुवा बन्दुक बोक्थे। प्रहरीसँग थ्री नट थ्री राइफल थिए। थ्री नट थ्री आफैंमा शक्तिशाली राइफल थियो। ‘भरुवा बन्दुकको सहायताले हामीले थ्री नट थ्री राइफल कब्जा गर्न सफल भयौं,’ उनी भन्छन्, ‘त्यस्ता राइफल बोकेर सेनासँग भिडन्तमा जानु एकातिर खतरनाक थियो, किनभने सेनाले एसएलआर बोक्थ्यो।’
एकैपटक सयौं राउन्ड फायर गर्न सक्ने एसएलआरसँग थ्री नट थ्रीले भिड्नु आफैंमा चुनौती थियो।

२०५८ सालको मध्यतिर। पार्टीबाट सर्कुलर भयो, ‘सल्लेरी ब्यारेकमा धावा बोल्ने।’
यसका लागि पूर्वका १६ वटै जिल्लाका करिब चार सय माओवादी सेना जुटेका थिए। सोलुखुम्बुको कमाण्ड राईले सम्हालेका थिए।
सबै जिल्लाको कमाण्डर सन्तु दराई ‘पारवना’ थिए। मंसिर १० गते सल्लेरी ब्यारेक हान्ने निर्णय भयो। जसमा माओवादी सेनाका चार कम्पनी तयार भएका थिए।

आखिरमा माओवादीले सल्लेरी ब्यारेक हानेरै छाड्यो। १३ जना माओवादी सेनाले वीरगति प्राप्त गरे। ‘सेनातर्फको क्षतिबारे यकिन जानकारी भएन। तर, त्यहाँबाट थुप्रै एसएलआर माओवादी सेनाले सैनिकबाट लुटेको थियो,’ उनी भन्छन्, ‘हतियार र गोलीगठ्ठा लुटेपछि हामी थप शक्तिशाली बन्यौं, अन्यत्रका प्रहरी इकाइ र सेनाका ब्यारेक हान्ने निर्णय भयो।’

त्यसपछि माओवादी सेनाले ओखलढुंगाको खानीभञ्ज्याङ, रामेछापको धोवीडाँडा, सोलुखुम्बुको जुनवेशी लगायतका प्रहरी चौकीमा आक्रमण गर्यो, उनकै नेतृत्वमा। युद्धको कलाकौशलमा पोख्त भइरहेका थिए राई। उनी इलाम, भोजपुर, सिन्धुली, काभ्रे, धनकुटा, सिरहा, संखुवासभा, मकवानपुर, सर्लाही, रामेछाप भिडन्तमा सक्रिय रुपमा हिँडे।

ओखलढुंगाको रुम्जाटार भिडन्तमा टाउकोमा गोली लाग्यो। खोटाङको ऐंसेलुखर्कमा देब्रे छातीमाथिको कुममा गोली लाग्यो। संखुवासभाको चैनपुर भिडन्तमा तिघ्रामा गोली लाग्यो।

‘गोली लाग्दै, उपचार गर्दै भिडन्तमा हिँडिरहेँ, तर कुममा गोली लागेपछि लामो समय थला परेँ, तर सैन्य संरचनामा रहेर निरन्तर काम पनि गरिरहेँ,’ राईले सम्झे।
घाइते, उसमाथि लडाइँमा सक्रिय भूमिका खेलेको हुनाले उनलाई पार्टीले २०६० मा कम्पनी सह–कमाण्डरको भूमिका दियो। २०६१ मा त उनी बटालियन सह–कमाण्डर बने।

युद्धबिराम भएका बेला उनी २०६२ सालमा ब्रिगेड सह–कमाण्डर भए। शान्ति प्रक्रियामा आएपछि उनी ब्रिगेड कमाण्डर भए।
सिन्धुलीको सोलु–सल्लेरी स्मृति ब्रिगेडको कमाण्डर भए। एकातिर ब्रिगेड कमाण्डर, अर्कोतिर अधुरो पढाइ।
सिन्धुलीमा कमाण्डर हुँदै उनले त्यहीँ आफ्नो अपुरो शिक्षालाई औपचारिक रुपमा पूर्णता दिने प्रयास गरे। २०६६ सालमा सिन्धुली जिल्लाबाटै एसएलसी पास गरे। कक्षा ११ पास गरेर १२ पढ्दापढ्दै उनले माओवादी सेनाबाट स्वेच्छिक अवकाश लिए। यो २०६८ सालको कुरा थियो।
‘त्यहाँभन्दा माथि पढाइ अघि बढाउन सकिनँ,’ राईले भने।

सैन्य गतिविधिबाट अवकाश लिएपछि उनलाई पार्टीले सोलुखुम्बुमै पठायो। उनी जिल्ला संयोजक भएर पार्टी गतिविधिमा लागे।
पार्टीको जिल्ला कमाण्ड सम्हाल्दा थुप्रै चुनौती थिए। एकातिर स्वास्थ्य समस्याले घरिघरि पिरोल्थ्यो। २०७३ सालमा उनले जिल्ला कमाण्ड छोडे। उपचारमा जुटे। केही समय उपचारमा जुटेपछि फेरि पार्टीको जिम्मेवारीमा फर्के।

२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। यसबीचमा उनी जिल्लाको राजनीतिमै थिए।
संघीय संसद र प्रदेश निर्वाचन हुँदा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो। सोलुखुम्बुको एउटै मात्र निर्वाचन क्षेत्रमा राई संयुक्त उम्मेदवार बने। चुनाव जिते। त्यो जितको आधार जनयुद्धताकैदेखिको सक्रिय राजनीति कामकाजी भयो। राई संघीय संसदको निर्वाचित सदस्यको हैसियतले काठमाडौंकेन्द्रित भए।

एकातिर संसदीय भूमिका, अर्कोतिर पार्टी राजनीति। दुबैलाई सफलतापूर्वक हाँक्न उनी सक्षम छन्।
जिल्लामा विकास निर्माण लगायत धेरै मुद्दाहरूले उनलाई सताउँछ। प्रथमतः युद्धका घाइते तथा अपांगहरूको आवाज बुलंद गराउनु पर्ने चुनौती उनको छ। युद्धमा सोलुखुम्बुबाट ८८ जना माओवादी मारिएका थिए। उनले ती सबै सहिद परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिलाएका छन्। यो मामलामा माओवादी नेतृत्व धेरै आलोचित बन्यो, अपांग, घाइतेहरूले राहत नपाइरहेको गुनासो पार्टीमा चल्दा उनले सोलुखुम्बुका सबै मृतक परिवारलाई राहत दिलाए।

‘यसकारण पनि मलाई सोलुखुम्बुका पीडित जनताले साथ दिनुभएको छ, मैले कम्तीमा मृतक परिवारको आवाजलाई सम्बोधन गर्न सकेँ,’ राई भन्छन्, ‘मैले चुनाव जितेको आधार पनि त्यही नै बन्यो।’

अहिले मुलुकमा गणतन्त्र आइसकेको छ। संघीयता लागू भएको छ। यो सम्म आइपुग्नु भनेको त्यही जनयुद्ध प्रमुख थियो भन्छन्, राई। ‘यदि त्यसबेला माओवादीले वर्ग संघर्षको मुद्दा उठाएर राज्यसत्ताविरुद्ध विद्रोह गरेको थिएन भने नेपालमा न गणतन्त्र न संघीयता आउँथ्यो,’ राई भन्छन्।

उनी पार्टी र संसदीय दुबै गतिविधिमा सक्रिय छन्। ज्यानको बाजी थापेर सशस्त्र विद्रोहमा लागेका उनी युद्धको घाउ बोकेर बाँचिरहेका छन्। ‘उपचारमा धाएँ, धेरै खर्च भयो, तर घाउ निको भएन,’ उनी भन्छन्, ‘यो मेरोमात्र समस्या हैन, युद्धमा होमिएका तमाम कार्यकर्ताको अवस्था यस्तै हो।’

जनयुद्धका धेरै मृतकले उपचार पाएका छैनन्, कतिको हात, खुट्टा काटियो, कतिले कोख रित्तो बनाए। तर, नेतृत्वले सबैको आवाज नसुनेकोमा उनी अत्यन्तै दुःखी छन्। भन्छन्, ‘म नेता भएँ, सांसद भएँ। तर, युद्धको चोट बोकिरहेको छु। मैले जे जति सुविधा पाए पनि सबैले यो पाएका छैनन्, तिनीहरूको दुःख सम्बोधन कसले गर्ने?’
उनका अनुसार माओवादी सैन्य संरचनाको एउटा कम्पनीमा सय–डेढ सय सेना र त्यसमा प्राविधिक सहयोग गर्ने अनि स्वास्थ्यकर्मी हुन्थे। शिक्षा लिँदै गर्दा पार्टीमा स्वास्थ्यकर्मीहरू आवद्ध हुन्थे। उनीहरूलाई लडाइँको बेला माओवादी सेनासँगै खटाइन्थ्यो।

अधुरो शिक्षा लिएका त्यस्ता स्वास्थ्यकर्मीलाई पार्टीमा आबद्ध विशेषज्ञ चिकित्सकहरूले तालिम दिन्थे। एक–दुई महिनाको तालिम लिएपछि उनीहरू युद्धको बखत जनसेनाको उपचारमा खटिन्थे।

‘सामान्य औषधि र उपकरण लिएर स्वास्थ्यकर्मी हामीसँगै भिडन्तमा हिँड्थे, गोली लाग्यो भने निकालिदिन्थे, साधारण उपचारपछि सेना फेरि युद्धमा हिँड्थे,’ राई भन्छन्।
राईका अनुसार कहालीलाग्यो परिस्थिति हुन्थ्यो, युद्धका बखत। एकातिर विपक्षी सेनासँग लड्नु, पर्याप्त साधन स्रोत नहुनु, औषधी उपचार नहुनु त आँखैले देखियो। ‘सँगै हतियार पड्काइरहेको साथीहरू मर्थे, घाइते हुन्थे, उनीहरूलाई सुरक्षित स्थानमा लगेर उपचार गराउन निकै चुनौती थियो।’

राईका अनुसार युद्धमा जाँदा स्टेचर अनिवार्य बोकिन्थ्यो। बेल्चा, गैंती अनिवार्य बोक्नुपथ्र्यो। कतिबेला कसको ज्यान जान्छ टुंगो हुँदैनथ्यो। स्टेचर त जसोतसो जुटाइन्थ्यो, तर कपडा हुँदैनथ्यो। ‘स्टेचरमा कुर्ता राखेर घाइतेको उद्धारमा जुट्थ्यौं,’ राईले भने।

माओवादी सेनामा आबद्ध भएर काम गर्न त्यति सजिलो थिएन। साथ सम्पर्क केही पनि हुँदैनथ्यो। कोही पूर्व, कोही पश्चिम, कोही रोल्पा रुकुमका लडाकुहरू भिडन्तमा हुन्थे। कोही घाइते हुन्थे, कसैको घटनास्थलमै मृत्यु हुन्थ्यो।

जहाँ जसको मृत्यु हुन्थ्यो, गैंती तथा बेल्चाको माध्यमबाट खाल्डो खनिन्थ्यो, मृतकलाई त्यहीँ पुरेर पार्टीको झन्डा गाडी हिँड्नुपर्ने बाध्यता थियो। ‘को पीडितको कहाँ मृत्यु भयो, परिवारलाई खबर गर्ने अवस्था हुँदैनथ्यो,’ राईले भने।

गणतन्त्रसम्म आइपुग्दा पनि युद्धको चोट मेटिएको छैन। नेतामा परिवर्तन आयो, जीवनशैली र आर्थिक रुपमा ठूलै परिवर्तन देखियो। तर, लड्ने भिड्ने कार्यकर्ताको अवस्था आज पनि उस्तै छ।

यस्तै असन्तुष्टिका कारण पनि फेरि हतियार उठाउने प्रयास भइरहेको उनी बताउँछन्। ‘विप्लव दाइको पार्टी किन युद्ध गर्न खोजिरहेको छ? यसको कथा पहिलेको युद्धको समुचित व्यवस्थापन र असन्तुष्टि समाधान गर्न नसक्नु नै हो,’ राई भन्छन्, ‘नेतृत्वले बेलैमा विचार नपु¥याएकाले नै यो भइरहेको छ।’

विप्लव माओवादीले हतियार उठाउन खोजिरहेको छ। सैन्य संरचना निर्माण गरिसकेको छ। ‘उनीहरू अहिलेको राज्यसत्ताविरुद्ध हतियार उठाउन खोजिरहेका छन्, अहिलेको नेतृत्व राजतन्त्रजस्तो भइसकेको हो?,’ उनी प्रश्न गर्छन्। ‘खोलो त¥यो, लौरो बिर्सियो’, अहिलेको पार्टी नेतृत्वमा यही भएको राई बताउँछन्।

Loading...