fbpx

पत्रपत्रिकामा देश : डेढ वर्षमा पनि टुंगिएन नेकपाको एकता

विराटनगर १० कात्तिक । नेकपाको एकता भएको डेढ वर्ष भएपनि एकताको काम भने अझै बाँकी रहेको समाचार नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । जिल्ला र स्थानीय तह एकीकरणको काम नै बाँकी रहेको छ । नेकपाको प्रदेश १ मा उदयपुर र विराटनगर महानगरपालिकामा शपथ लिन बाँकी रहेको छ । यस्तै प्रदेश २ मा संस्थापन पक्ष र माधव नेपाल गुटको विवाद कायमै रहेको छ ।

दुई गुटको लडाईले पर्सा र बारा बाहेकका जिल्लाको शपथ हुन सकेको छैन् । प्रदेश ३ को तीनवटै महानगरको कमिटी बन्न सकेको छैन् भने काभ्रेमा शपथ ग्रहण गर्न बाँकी रहेको छ । गण्डकी प्रदेशमा वडा स्तरमा कमिटी बन्न बाँकी रहेको छ । कर्णालीका दुई जिल्लामा नेकपाको एकीकरण हुन सकेको छैन् । दैलेख र सुर्खेतमा एकीकरणको काम नभएको हो । दार्चुला र बैतडीको केही स्थानीय तह एकीकरण हुन बाँकी रहेको छ ।

यस्तै नेकपाका सांसदहरुले समेत फरक फरक लेबी बुझाइरहेका छन् । पूर्व एमालेका सांसदहरुले १३ हजार रुपैयाँ र पूर्व माओवादीका सांसदहरुले १२ हजार रुपैयाँ लेबी तिरिरहेका हुन् । पार्टी एकता नटुंगिदा लेबी पनि फरक रहेको कार्यालय सचिव श्रीराम ढकालले बताए ।

नागरिक दैनिकमा सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमा अध्यक्ष नहुँदा अलपत्र भएको समाचार छापिएको छ । सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारी नियुक्तिको लागि सिफारिस गर्न बनेको समितिले उपयुक्त उमेद्वार नभेट्दा आयोगहरु नेतृत्वविहिन भएको हो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको समितिले अध्यक्षको लागि उपयुक्त उमेद्वार नभेटेको हो ।

रौतहट विस्फोट प्रकरण अनुसन्धान टुंग्याइँदै शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य समाचार छ । बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटको कारण क्षती भएको गोठको मर्मत गर्ने कामदार लगायतका सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएको प्रहरीले कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ । घटनासँग जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ ।

१२ वर्षअघि भएको बम विस्फोटनमा परेकाहरुलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलमलाई अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेश्रो पटक ८ दिनको म्याद थपेको छ । बम विस्फोट नै नभएको भन्दै बयान दिएका आलमले पोलिग्राफ परीक्षण गराउन मानेका छैनन् । झुटो बोलेको नबोलेको छुट्याउने परीक्षण गर्न नमानेका आलमले दिएको बयान झुठो भएको प्रहरीको ठम्याइ छ ।

Loading...