fbpx

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

बारा ९ कात्तिक । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारको काम सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा उद्घाटन गरेका छन् ।

मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नेपाल आयल नियमले जनाएको छ । देशका विभिन्न भागमा पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारको कार्य थालनी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले बताए । उनले देशभर पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारकार्य भएको बताए । जसमा पेट्रोलियम पदार्थ मात्र नभई खाना पकाउने ग्यास समेत पाइपमार्फत ल्याउने कामको शुरुआत भएको उनको भनाई छ ।

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्न अनुमानित लागत ५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि ४ अर्ब १९ करोड रुपैयाँ लाग्ने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । अमलेखगञ्जमा भण्डारणका लागि पर्याप्त जग्गा नभएको कारण चितवनसम्म पाइपलाइन विस्तार गर्न लागिएको उनको भनाई छ । चितवनमा इन्धन तथा खाना पकाउने ग्यासको भण्डारण गरिए मुलुकको अन्य भागमा सहजै आपूर्ति गर्न सकिने निर्देशक भट्टराईको भनाइ छ ।

भारतीय सीमा रक्सौलदेखि चितवनसम्म ९८ किलोमिटर लामो पाइपलाइन निर्माण हुनेछ । पाइपबाट आएको ग्यास भण्डारण गर्न २० हजार मेट्रिक टनको ट्याङ्की निर्माण हुनेछ ।

Loading...