fbpx

मौलाउँदैछ सेलरोटी संस्कृति

चाडपर्वमा मात्र खाइदै आएको सेलरोटीले आजकल व्यवसायिकता ग्रहण गर्न थालेको छ ।

माधव काफ्ले
सेलरोटी नेपाली परम्परागत स्वादिष्ट परिकार हो । सेलरोटी अन्य समयभन्दा दसैं, तिहार र माघे संक्रान्तिमा बढी सेवन गरिन्छ । त्यसबाहेक पनि पछिल्लो समय सेलरोटी विभिन्न चोक–चोकमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । सेलरोटी नेपालबाहेक भारतको दार्जिलिङ, सिक्कीम र भूटानमा समेत बनाइने गरिन्छ ।

विशेषगरी तिहारमा सेलरोटीको महत्व बेग्लै छ । झिलिमिलीको पर्व भनिने तिहार विशेष परिकार नै हो, सेलरोटी । सेलरोटी खान अधिकांश सबैलाई मन पर्छ । तिहारमा सेलरोटी खाइने मात्र नभएर सगुनका रूपमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दिन्छन् । चेलीबेटीले आफ्ना दाजुभाइलाई सगुन वा मिष्ठान्न राखेको थालीमा रोटी राखिएको हुन्छ । यस्तै तिहारको उपलक्ष्यमा देउसीभैलो खेल्न आएकाहरूलाई पनि सेलरोटी दिइने चलन रहेको छ । देउसेले भट्याउँदा नै ‘आहम् आहम् सेलरोटी चाखम्’ भन्दै भट्याउने चलन रहेको छ ।

सेलरोटी तिहारको २ दिन अगाडि नै बनाइने गरिन्छ । प्रायः मानिसहरूले लक्ष्मीपूजा गर्दा चाहिने भएकाले सो दिन नै सेलरोटी बनाउँदछन् । यस्तै गाई पूजा गर्दा पनि सेलरोटी गाईलाई खुवाउने चलन छ । यस्तै गोरु पूजाका दिन गोरुलाई सेलरोटी खुवाउने गरिन्छ ।

यसरी तिहारमा बनाइएको सेलरोटी तिहार सकिएपछि पनि खाइन्छ । बासी रोटीलाई चियासँग वा आगोमा तताएर खाजाको रूपमा खाने चलन रहेको छ । यसरी भन्नुपर्दा अन्य चाडवाडको तुलनामा तिहारमा रोटीको महत्त्व अलि धेरै रहेको छ । यद्यपि, अन्य चाडवाडमा पनि सेलरोटी बनाइन्छ । जस्तै दसैं, माघे संक्रान्ति आदि । त्यसबाहेक विविध धार्मिक कार्यहरूमा पनि रोटी चलाइन्छ । रोटी विशेषगरी पूजा, श्राद्ध, बिहे, व्रतबन्ध आदिमा पनि रोटी पकाउने गरिन्छ ।

विभिन्न चाडवाड होस् या विवाह–व्रतबन्ध या पूजारपाठ या बेला–बखत आयोजना गरिने विविध कार्यक्रमहरू नै किन नहुन्, सेलरोटी अति नै रुचिकर खाद्यवस्तु (खाजा) को रूपमा प्रयोग गरिन्छ ।

पछिल्लो समय त खाजा पसल वा चोक–चोकमा सेलरोटी बनाइरहेको देख्न सकिन्छ । प्रतिरोटी ५ रुपैयाँदेखि लिएर १० रुपैयाँसम्म पर्दा पनि मानिसहरूको भिड हुन्छ । यसरी हेर्दा सेलरोटी नेपालीहरूबीच निकै प्रिय छ ।

कसरी बनाउने सेलरोटी ?

सेलरोटी बनाउन चाहिने भाँडा– सेल पकाउँदा राम्रोसँग तैरिने खालको गाहिरो र सम्म पिँध भएको कराई या ताई, एक फिट लामो बाँसका दुई मोटो सिन्का । सेल रोटी पकाउँदा तयारी पिठो कराईमा सजिलैसंग खन्याउनका लागि पानीको बोतललाई आधा काटेर मुखतिरको भाग, सेल राख्ने नांग्लो ।

सेलरोटी बनाउन चाहिने सामाग्री– आवश्यकता अनुसार चामल (चामलको पिठो बजारमा किन्न पनि पाइन्छ । तर, घरमै चामल भिजाएर बनाउदा सेल राम्रो हुन सक्छ ), मैदा एक कप, रोटी फुलाउनका लागि खाने सोडा, पानी अथवा दूध, घिउ दुई कप, चिनी दुई कप, एक लिटर खाने तेल, मन भए अलिकति अंलैची, ल्वाङ्ग तथा काजु राख्न सकिन्छ ।

सेलरोटी बनाउने बिधि–  चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै थोरै गर्दै दुई चम्चा चिनी र एक चम्चा घिउ हाल्दै सिलाउटो वा ग्रान्डरमा पिनेर पिठो बनाउनु पर्छ । पिठो राम्रो र ललिसो हुनुपर्छ । यसरी नै सबै चामल पिसिसकेपछि पिठोमा आधा कप मैदा हालेर बिस्तारै थोरै–थोरै पानी राख्दै मज्जाले मोल्नु पर्छ ।

धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो भएको खण्डमा मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्न सकिन्छ । पिठोलाई एक देखि दुई घन्टा यसै छाडिदिने । यसो गर्दा पिठोमा रहेका सबै कुराहरू राम्रोसँग घोलिन्छ । तातेको कराईमा भाँडोको दुई इन्च माथिसम्म आउनेगरी तेल राखेर, तेल तात्न दिनु पर्छ ।

अब तातेको तेलमा काटेको बोलतको सहायताले मुछेको पेस्टलाई गोलो आकार हुने गरेर हाल्नु पर्छ । सेल गोलो नभएको खण्डमा सिन्काको साहयताले बिस्तारै मिलाउनु पर्छ । सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनु पर्छ ।

Loading...