fbpx

दिल्लीको वायुको गुणस्तर थप खराब

नयाँ दिल्ली, ८ कात्तिक । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खराब भएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था नाजुक देखिएको हो ।

स्थानीय समय अनुसार विहान साढे ८ बजे नयाँ दिल्लीको वायुको गुणस्तरको सुचक (एक्युआई) ३२६ देखिएको थियो । त्यसैगरी धिरपुरको एक्युआई ३५१ भएकाले विज्ञहरूले बताएका छन् ।

दिल्ली विश्वविद्यालय आसपासको एक्युआई ३५७ हुदाँ चाँदनीचोकको वायुको एक्युआई ३२५ देखिएको थियो । विज्ञहरूका अनुसार वायुमा एक्युआई शुन्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ । १ देखि १०० सम्म एक्युआई देखिँदा सन्तोषजनक मानिन्छ ।

त्यसैगरी एक्युआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति कमजोर (खराब) र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञहरूको भनाई छ ।

पन्जाब र हरियणा लगायतका छिमेकी राज्यहरुमा नियमितरूपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्लीमा वायुको गुणस्तर खस्किएको विज्ञहरुको भनाई छ ।
वायु प्रदुषण गराउने वस्तु बाल्न निषेध गरिए पनि कृषकहरूले भने बाल्न रोकेका छैनन् । अर्को विकल्प नभएकाले बाल्ने क्रम नरोकिएको कृषकहरुले बताउने गरेका छन् । उनीहरुले वायु प्रदुषण आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनहरुका कारण हुनेगरेको दावी गर्ने गरेका छन् ।

Loading...