fbpx

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

पाकिस्तान ८ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको स्वास्थ्य अवस्था नाजुक भएपछि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेलमा रहेका सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो । स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उनलाई केहीदिन अगाडि उपचारका लागि अस्पतालमा लगिएको थियो । उनको अहिले अस्पतालमै उपचार भइरहेको छ ।

लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री भएका व्यक्ति विरामी भएर अस्पतालमा उपचार गराईरहेका बेला कैदी जस्तो नभई स्वतन्त्रता पूर्वक उपचार गर्न सघाउन यस्तो आदेश दिएको हो । सन् २०१७ देखि कारागारमा रहेका सरिफलाई अदालतले १ करोड रुपैँया जमानत तोकेको छ । उनलाई अनिश्चितकालका लागि रिहा गर्न आदेश दिइएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उनले रिहा गर्नुपर्ने निश्कर्ष निकालेको एक अधिकारीले बताएका छन् ।

चिकित्सकहरूले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था विग्रिदै गएको बताए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाएका छन् ।

पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो । सरिफले भने आरोपलाई अस्वीकार गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउँदै आएका छन् ।

Loading...