fbpx

नेपाललाई श्रीलंकासँग दाँजेर हेर्दा

नेपाल र श्रीलंकामा केही समानता छन् । दुवै देशका मानिसहरू खुल्लादिलका र मिलनसार छन् । दुवै देशले लामो समय आन्तरिक द्वन्द्व र विनास भोगेका छन् । दुवै देशहरू प्राकृतिक सुन्दरताले भरिभराउ छन् । दुवै देशको मुख्य कृषि उत्पादन र खाद्यान बाली धान हो । यी सबै समानता हुँदाहुँदै पनि हामी बीचमा धेरै असमानताहरू पनि प्रशस्त छन् ।

writter
डा. राजेन्द्र उप्रेती,

क्षेत्रफलको हिसावले ६५ हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफल रहेको श्रीलंकाभन्दा नेपाल १ लाख ४७ हजार ८१ वर्गमिटर क्षेत्रफलसहित दुई गुणाभन्दा ठूलो छ । नेपालको जनसंख्या ३ करोड पुग्नलाग्दा श्रीलंकाको जनसंख्या २ करोड १६ लाख रहेको छ । क्षेत्रफल र जनसंख्यामा सानो रहेपनि आर्थिक रूपमा नेपालभन्दा श्रीलंका निकै ठूलो छ । नेपालको वार्षिक आम्दानी २९ अर्ब ८१ करोड डलर हुँदा श्रीलंकाको वार्षिक आम्दानी ८८ अर्व ९० करोड डलर रहेको छ ।

स्थानीय क्रयशक्तिको आधारमा हेर्ने हो भने नेपालको वार्षिक आम्दानी ९४ अर्ब ४१ करोड डलर हुँदा श्रीलंकाको वार्षिक आम्दानी २ सय ९१ अर्ब ५५ करोड रहेको छ र प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकालीहरू दक्षिण एसियामा मालदिपभन्दा पछाडी र नेपालीभन्दा ४ गुणा अगाडि छन् । यी सूचकहरूको आधारमा हेर्दा श्रीलंका उच्च–मध्यम आयश्रोत भएको देश हो ।

a

श्रीलंकाले पर्यटन, चिया खेती, नरिवल खेती, रबर खेतीबाट मुख्य आम्दानी गर्ने गरेको छ । सेवा क्षेत्रको योगदान ४५ प्रतिशतभन्दा माथि रहेको छ र पछिल्लो समयमा नेपालमा जस्तै वैदेशिक रोजगारीमा जानेले पठाउने गरेको आम्दानीले पनि श्रीलंकाको आर्थिक विकासमा ठूलो योगदान गरेको छ । वैदेशिक रोजगारीको लागि श्रीलंकालीहरूको मुख्य गन्तव्य मध्यपूर्वका देशहरू नै हुन् ।

वैदेशिक रोजगारीको कुरागर्दा नेपाल, श्रीलंका, फिलिपिन्स र बंगलादेश जस्ता देशहरूबाट परिवार धान्न बर्सेनि लाखौँको संख्यामा विदेशिने नागरिकहरू आ–आफना देशमा रहेको अस्थिरता र बेथितीले त त्यता लागेका होइनन् भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ । नत्र कुनै समय एसियामा अग्रस्थानमा रहेका श्रीलंका र फिलिपिन्सको एउटा मुख्य आयश्रोत वैदेशिक रोजगारीको कमाइ हुने थिएन होला ।

a

यति हुँदाहुँदै पनि श्रीलंकाबाट हामीले सिक्नुपर्ने धेरै छ । श्रीलंकाको सडकहरूको सञ्जाल र अवस्था निक्कै लोभलाग्दो छ । मैले आफ्नो भ्रमणको क्रममा सयौँ किलोमिटरको सहरी क्षेत्र र ग्रामीण क्षेत्रको यात्रा गर्दा देखिएका अधिकांश सडकहरूको अवस्था अत्यन्त राम्रो थियो । चाहे ती फ्लाइओभर हुन या ४ लेन, २ लेन वा एक लेनमा ग्रामीण सडकहरू हुन्, सबै खाल्डाखुल्डीरहित र सलल बगेका छन् । ट्याक्सीहरू चाहे कार हुन् या तीनपांग्रे अटो मोलमोलाई नगरी मिटरमा गुड्छन् । मानिसहरू असल छन् अनि सहयोगी छन् । बुद्ध धर्मप्रतिको अगाध आस्थाले उनीहरूलाई बाँधेको छ । हिंसाबाट टाढा बस्नका लागि भनेर धेरै किसानहरूले पशुपालन तथा माछापालन गर्दा रहेनछन् ।

श्रीलंकाले वर्षातको पानी संकलन र सदुपयोगमा अनुकरणीय काम गरेको छ । पहाडको छेउछाउ तथा धेरै अन्य ठाउँहरूमा उनीहरूले ठूलाठुला बाँध बनाएर वर्षातको पानी संकलन गरेका छन् र हजारौँ हेक्टरमा सिचाइँ सुबिधा पुर्याएका छन् । हाम्रोमा रहेका वर्षैभरि बग्ने खोलाहरू तथा वर्षातको पानी संकलन गरेर हामीले पनि हाम्रो ठूलो क्षेत्रमा सिचाइँ सुबिधा पुर्याउन सक्छौँ ।

aa

सडक किनारामा रहेका होटलहरू उनीहरूको सरसफाइ र त्यहाँ पाइने खानेकुराहरूको मूल्य हाम्रा मान्छेहरूले सिक्नुपर्ने अर्को कुरा हो । यस्ता होटल रेष्टुराँहरू सफा छन् र सस्ता छन् । अनि सेवाप्रति समर्पित छन् । बाटोमा अर्को विकल्प नभेटिने ठाँउमा गाडी रोक्ने र गुणस्तरहिन खानेकुराहरूको मनपरी मूल्य असुल्ने हाम्रा होटलहरूले श्रीलंकाका व्यवसायीहरूबाट सिक्न सके राम्रो हुनेथियो ।

यस्ता धेरै सिकाइहरू हाम्रा लागि हुन सक्छन । आउने दिनहरूमा मेरा सिकाइहरू लेखिरहनेछु । सबैमा दीपावली, तिहार र छठपूजाको शुभकामना ।

Loading...